चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु भएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना गरिएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्जका प्रमुख, बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालयका प्रमुखहरू, वन्यजन्तु संरक्षण विभाग, सामुदायिक वनका प्रतिनिधि, वन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहेको छ ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा छलफल गरिने प्रमुख आचार्यले जानकारी दिए । उनले भने, “आगामी दिनमा बागमती प्रदेशको एक सशक्त संरक्षण प्रतीकका रूपमा सालकलाई अघि बढाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । हाल सालक लोपोन्मुख अवस्थामा पुगेको छ । किसानको साथीका रूपमा परिचित सालकले बालीनालीमा हानिकारक कीरोफट्याङ्ग्रा खाने भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यले बताए ।
प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाई कार्यान्वयन अघि बढाएको छ । आउँदो वर्षदेखि नियमित र योजनाबद्ध रूपमा सालक संरक्षणका कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेश सरकारको योजना रहेको जनाइएको छ ।
सालक एक स्तनधारी जनावर हो । विश्वमा सालकका आठ प्रजाति पाइन्छन् भने नेपालमा कालो (चाइनिज) र तामे (इन्डियन) गरी दुई प्रजाति पाइन्छन् । सालक नेपालका ६१ जिल्लामा तथा बागमती प्रदेशका सबै जिल्लामा पाइने गरिएको तथ्याङ्क छ ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालकको चोरी
सिकारी तथा अवैध व्यापारमा संलग्न भएमा गम्भीर अपराध मानिनेछ । दोषी ठहर भएमा रु १० लाखसम्म जरिवाना तथा १५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । सालक निर्दोष र पारिस्थितिकीय दृष्टिले महत्वपूर्ण जनावर भएकाले यसको महत्त्व सबैले बुझ्न आवश्यक रहेको उनले बताए ।
यसैबीच सम्मेलनले आजै ‘माडी घोषणापत्र’ जारी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया