काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा लिइएको प्रयोगात्मक परीक्षामा फेल भएका तथा अनुपस्थित रहेका १८ जनाको नतिजा कम्प्युटर अभिलेखमा अनधिकृत रूपमा सच्याएर पास देखाई सवारी चालक अनुमतिपत्र जारी गरिएको पुष्टि भएको छ।
अनुसन्धानका क्रममा विदेशमा रहेको अवस्थामा पनि शालिकराम भण्डारीको नाममा वर्ग ‘ए’ (मोटरसाइकल) को सवारी चालक अनुमतिपत्र जारी गरिएको तथ्य समेत खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका तत्कालीन प्रहरी नायव निरीक्षक गंगाराम विश्वकर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १३ बमोजिम कैद तथा जरिवाना सजाय माग गर्दै आरोपपत्र दायर गरिएको हो।
प्रयोगात्मक परीक्षाको नतिजा कम्प्युटर प्रणालीमा अनधिकृत रूपमा परिवर्तन गरी फेल तथा अनुपस्थित व्यक्तिलाई पास देखाएर लाइसेन्स जारी गरिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया