अण्डाको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

आइतबार, २५ माघ २०८२

चितवन : अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ पुगेको थियो । 

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको ५५० थियो । सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उहाँले जानकारी दिए ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् । 

सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार