खोटाङ : भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको भीषण विस्फोटमा ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ । विस्फोटपछि बेपत्ता भएका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान भएसँगै मृतक नेपालीको संख्या थपिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको थियो । शरीरको बनोटका आधारमा आफन्तले उनको पहिचान गरेका हुन् ।
गत असोज ९ गते रोजगारीको खोजीमा मेघालय पुगेका राईको मृत्युको खबरले उनको परिवार र सिंगो गाउँ शोकमा डुबेको छ । घरमा उनका छोराहरूले माघ २५ गतेदेखि नै काजकिरिया सुरु गरिसकेका छन् ।
यसअघि सोही विस्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका तीन जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गी छन् ।
मृतक पूर्णबहादुर र सुरेन्द्र एउटै घरका दाजुभाइ हुन् । माघ २२ गते भएको विस्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।
विस्फोटमा ज्यान गुमाएका खपाङ्गी त्रयको गत माघ २६ गते शिलाङको झालुपारामा दाहसंस्कार गरिएको छ ।
मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार शव नेपाल ल्याउनका लागि नेपाल सरकारका तर्फबाट कुनै पहल वा सहयोग प्राप्त नभएपछि बाध्य भएर परदेशमै अन्तिम संस्कार गरिएको हो ।
सोही विस्फोटमा परेर बराहपोखरीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् ।
उनीहरू गत पुस ३ गते मात्र कामको खोजीमा त्यहाँ पुगेका थिए । अवैध रूपमा सञ्चालित भनिएको उक्त कोइलाखानीमा भएको शक्तिशाली डाइनामाइट विस्फोटमा अझै दर्जनौँ कामदारहरू फसिरहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया