मेघालयको कोइलाखानी विस्फोटमा दुई नेपालीसहित १८ को मृत्यु

शनिबार, २४ माघ २०८२

खोटाङ : घरमा ११ महिनाको शिशु, वृद्ध आमाबुबा र श्रीमती छोडेर पूर्णीराम मगर भाइ सुरेन्द्रका साथ लागेर मेघालय हिँडेका थिए ।

बाटो लाग्ने बेला उनीहरूले परिवारजनलाई ‘पैसा कमाएर चाँडै आउँछौं’ भनेका थिए । तर उनीहरू अब कहिल्यै घर नफर्कने भएका छन् । घर छाडेको दुई महिना नपुग्दै कोइलाखानी विस्फोटमा परेर दुवैको ज्यान गएको छ । 

खोटाङ बाराहपोखरी गाउँपालिका–१, सालघारीभन्ज्याङका सुरेन्द्र पहिला पनि कोइलाखानीमा काम गरेर फर्किएका थिए ।

उनी मेघालय–खोटाङ आउजाउ गरिरहन्थे । गत वर्ष दुई महिनामा करिब एक लाख रुपैयाँ कमाएर आएका थिए । ‘यसपालि दाजु–भाइ सँगै कमाउने भनेर गएका थिए,’ आफन्त प्रकाश खपांगी मगरले भने, ‘घरको अवस्था सुधार्छौं भन्थे तर कहिल्यै नफर्किने बाटामा गए ।’ 

भारतको मेघालयस्थित इस्ट जैन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा २७ वर्षीय पूर्णीराम र २४ वर्षीय सुरेन्द्र परेका हुन् । दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

पूर्णीराम र सुरेन्द्रसँगै मेघालय गएका खोटाङका नरबहादुर मगर, बमबहादुर मगर र कर्णबहादुर मगर तथा उदयपुरका ललितबहादुर मगर घाइते छन् । उनीहरूको सात जनाको टोलीमा ताराबल मगर मात्र सकुशल छन् । विस्फोटलगत्तै ताराबलले नै फोन गरेर गाउँमा खबर सुनाएका थिए । 

पूर्णीराम र सुरेन्द्रका बाआमा टंककुमारी र खड्गबहादुर मगर अझै पनि छोरा गुमाएको समाचार पत्याउन सकेका छैनन् । पूर्णीरामकी श्रीमती करुणा मगरको आँसु थामिएको छैन ।

११ महिनाको शिशु च्यापेकी उनी भन्छिन्, ‘अब हामी कसरी बाँच्ने ?’ १२ कक्षा पढ्दै गरेका कान्छा भाइ विशाल पनि दाजुहरूको मृत्युको खबरले आहात छन् । परिवारको जिम्मा उनकै काँधमा आइपरेको छ ।

मृतकका आफन्त प्रकाशले पूर्णीराम र सुरेन्द्रको शव जतिसक्दो छिटो ल्याउन सरकारले सहयोग गर्नुपर्ने बताए । ‘घाइतेलाई पनि नेपालमै ल्याएर उपचार गरिनुपर्छ,’ उनले भने । शव बुझ्न र घाइते लिन आफन्त मेघालयतर्फ हिँडिसकेका छन् । 

अवैध कोइलाखानीमा भएको विस्फोट भएपछि त्यहाँको प्रहरीले दुई जना खानी सञ्चालकलाई शुक्रबार पक्राउ गरेको छ ।

मेघालय प्रहरीका महानिर्देशक (डीजीपी) आई नोंग्राङले घटनासँग सम्बन्धित अर्का एक व्यक्तिको पहिचान भइसकेको र उनलाई पनि चाँडै पक्राउ गरिने बताएका छन् । प्रहरीका अनुसार खानीभित्र अझै केही मजदुर फसेको आशंका छ । त्यसैले उद्धार तथा खोज कार्य तीव्र पारिएको छ । 

मेघालयका मुख्यमन्त्री कोनराड के सङ्माले घटनामा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने अभिव्यक्ति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटमा ज्यान गुमाएकाको परिवारलाई राज्य सरकारकमा तर्फबाट जनही तीन लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराइने घोषणा उनले गरेका छन् । 

मुख्यमन्त्री सङ्माले अवैध कोइलाखानी ‘र्‍याट–होल’ उत्खनन गतिविधि सह्य नहुने भन्दै वैज्ञानिक खानी प्रणालीअन्तर्गत कानुनी लाइसेन्स लिएर मात्र खानी सञ्चालन गर्न 

आग्रह गरेका छन् । छिमेकी असम राज्य सरकारले मेघालय दुर्घटनामा ज्यान गुमाएका आफ्ना तीन नागरिकका परिवारलाई जनही ५ लाख भारु क्षतिपूर्ति दिने त्यहाँका मुख्यमन्त्री हिमन्त विश्व शर्माले घोषणा गरेका छन् । मेघालयका अवैध कोइलाखानी ‘र्‍याट–होल’ हरू वर्षौंदेखि मजदुरको ज्यान खाने मृत्युकुण्ड बनेका छन् ।

भारतको सर्वोच्च अदालतले सन् २०१४ मै प्रतिबन्ध लगाए पनि यस्ता खानी निर्बाध चलिरहेका छन् । कोइलाखानीमा पुरिएर र विस्फोट भएर बर्सेनि नेपालीले ज्यान गुमाइरहेका छन् । जोखिम थाहा हुँदाहुँदै पनि रोजगारीको विकल्प नपाएका नेपाली युवा ज्यानको बाजी थापेर त्यही खानीमा पस्न विवश छन् ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार