झापामा एआई प्रयोग गरी भ्रम फैलाउनेमाथि कारबाही प्रक्रिया अघि बढ्यो – सहायक प्रजिअ प्रसाई

शुक्रबार, २३ माघ २०८२

झापा  : निर्वाचनसँग जोडेर एआई प्रविधिको दुरुपयोग गर्दै भ्रामक समाचार र तस्वीर प्रयोग गरी भ्रम फैलाउने कार्यमा संलग्नमाथि जिल्ला प्रशासन कार्यालय झापाले कारवाही प्रक्रिया अघि बढाएको छ । 

जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिका वडा नम्बर २ क्याम्पा बजारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वालेन्द्र शाह (बालेन) को सम्पर्क कार्यालय तोडफोड गरिएको भनेर एआई प्रविधिको दुरुपयोग गरिएको सम्वन्धमा भ्रामक सूचना प्रवाह गर्ने व्यक्ति वा समूहको पहिचान गरी कारवाही गर्न सम्वन्धित निकायलाई पत्राचार गरिएको जनाएको हो । 

 

उम्मेदवार शाहको सम्पर्क कार्यालयन नजिकैको एक घरमा माघ २१ गते राति करिब १२ः१५ बजे ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको घटनाबारे जाहेरी परेपछि अनुसन्धान सुरु गरिएको समेत प्रशासनले जनाएको छ । 

प्रशासनले जारी गरेको सूचनामा उक्त घटनालाई लिएर वास्तविक अवस्था भन्दा फरक देखिने गरी एआई प्रयोग गरेर गम्भीर प्रकृतिको तोडफोड भएको जस्तो तस्वीर तयार पारेर सामाजिक सञ्जालमा फैलाइएको पाइएको उल्लेख गरिएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जारी गरेको सूचनामा त्यसरी भ्रामक सूचना प्रवाह गर्ने व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिसकिएको समेत जनाइएको छ । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार