परिवर्तनको सपना बोकेर: उषालक्ष्मी तुम्बाहाम्फे चुनावी मैदानमा

शुक्रबार, २३ माघ २०८२

तेह्रथुम : छिन्ताङदेखि जनयुद्ध र पछिल्ला आन्दोलनसम्म बगेको रगत अब सत्ताको खेलमा होइन, वास्तविक परिवर्तनमा बदलिनुपर्छ भन्ने सन्देशसहित राष्ट्रिय परिवर्तन पार्टी ले चुनावी राजनीति अघि बढाएको छ । यही घोषणापत्रलाई व्यवहारमा उतार्ने सङ्कल्पसहित म्याङ्लुङ नगरपालिका–९, साब्ला निवासी उषा लक्ष्मी तुम्बाहाम्फे प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकी छन् ।

तेह्रथुममा यस पटकको निर्वाचन बहुप्रतिस्पर्धात्मक बनेको छ । मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली काँग्रेसका सन्तोष सुब्बा र नेकपा (एमाले) का भानुभक्त ढकाल रहेका छन् । उनीहरूसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट इ. सुरेन्द्र कार्की र सागरनाथ रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमभक्त लिम्बु (कुम्बाङ), नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) पुष्पलाल समूहबाट टङ्कप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट मनकुमार लिम्बु तथा मङ्गोल नेसनल अर्गनाइजेसनबाट गङ्गाबहादुर चोङबाङ पनि चुनावी प्रतिस्पर्धामा छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यो जिल्लामा यस पटक १२ दल चुनावी मैदानमा उत्रिएका छन् । ११ पुरुष उम्मेदवारबीच एक्ली महिला उम्मेदवारका रूपमा तुम्बाहाम्फे मैदानमा होमिएकी हुन् । स्नातक तहसम्म अध्ययन पूरा गरेकी २६ वर्षीया तुम्बाहाम्फे आफू पद, प्रतिष्ठा वा व्यक्तिगत लाभका लागि नभई अन्यायविरुद्ध आवाज उठाउँदै जनताको पक्षमा उभिन राजनीतिमा आएको बताउँछिन् । राजनीतिलाई पैसा र पावरको खेल बनाइँदा साधारण नागरिकले निरन्तर अपमान, हस्तक्षेप र अन्याय भोग्नुपरेको उहाँको धारणा छ ।

वैदेशिक रोजगारीको तयारीमा रहेकै बेला भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सहभागी हुँदा उनी घाइते भएकी थिइन् । यही घटनाले आफ्नो जीवनलाई नयाँ दिशातर्फ मोडेको उनको भनाइ छ ।

“त्यो क्षणले मेरो डर तोडिदियो र जिम्मेवारीको अनुभूति गरायो,” उहाँ भन्नुहुन्छ, “त्यसपछि मैले बुझेँ—बगेको रगत खेर जान दिनु हुँदैन ।”

राष्ट्रिय परिवर्तन पार्टी ले अघि सारेका “रगत होइन, परिवर्तन चाहियो”, “अब फेरि रगत बग्न नपरोस्” र “त्यागको राजनीति, कामको सरकार” जस्ता नारासँगै उनको राजनीतिक यात्रा जोडिएको छ । पार्टीले सहिद र घाइतेको सम्मानलाई आफ्नो मूल अभियान बनाएको जनाएको छ ।

घोषणापत्रमा स्थिर नेतृत्व र दिगो विकासका लागि प्रत्यक्ष राष्ट्रपति प्रणाली आवश्यक रहेको उल्लेख गरिएको छ । बारम्बार सरकार परिवर्तन हुँदा विकास अवरुद्ध भएको तर्क गर्दै कम्तीमा चार वर्षको स्थायी नेतृत्वले नीति र योजनाको निरन्तरता सुनिश्चित गर्ने दाबी गरिएको छ ।

शून्य भ्रष्टाचार पार्टीको प्रमुख एजेन्डा हो । घुस, कमिसन र गरिब मारा प्रथाको अन्त्य गर्दै भ्रष्टाचारमा संलग्नहरूको सम्पती राष्ट्रियकरण गर्ने तथा जेल सजायभन्दा पनि राज्यलाई प्रत्यक्ष लाभ हुने कडा श्रम (हार्ड लेबर) मार्फत दण्ड दिने व्यवस्था घोषणापत्रमा समेटिएको छ ।

सुशासनको नाममा पद र सुविधाको राजनीति अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीलगायत पदाधिकारीका लागि शून्य तलब–भत्ता प्रणाली लागू गरिने उल्लेख गरिएको छ । राजनीति जागिर होइन, सेवा हो भन्ने अवधारणालाई व्यवहारमा उतार्ने पार्टीको दाबी छ ।

युवाको भविष्य देशमै सुरक्षित गर्न जलविद्युत्, पर्यटन, कृषि र खनिज क्षेत्रलाई प्राथमिकतामा राख्दै देशभित्रै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । आर्थिक पारदर्शिताका लागि बजेट, आम्दानी–खर्च र विकास परियोजनाको विवरण नागरिकको मोबाइल स्क्रिनमै उपलब्ध गराइने र भ्रष्टाचारको अन्तिम न्यायाधीश जनता स्वयं हुने व्यवस्था गरिने उल्लेख छ ।

राष्ट्रिय सार्वभौमिकता र पहिचानका सवालमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग भएको पुनः पुष्टि गर्दै नेपाललाई सगरमाथा, भगवान् बुद्ध र वीर गोर्खालीहरूको देशका रूपमा विश्वमाझ सशक्त रूपमा चिनाइने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

उम्मेदवार तुम्बाहाम्फे भन्नुहुन्छ  “म भोट मागेर हराउने नेता होइन, यहीँ बसेर जवाफ दिने प्रतिनिधि बन्न चाहन्छु । आश्वासन होइन, कामको रिपोर्ट लिएर बारम्बार जनतामाझ आउनेछु । मेरो राजनीति भाषणको होइन, सेवाको राजनीति हुनेछ ।”

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार जिल्लाभर ५६ मतदानस्थलमा ७३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा सहभागी हुने मतदातामध्ये ३५,५१० महिला र ३७,६२७ पुरुष गरी कुल ७३,१३७ मतदाता रहेका छन् । 

प्रतिक्रिया

मिक्सेन पाक्साँवा
लेखकको बारेमा
मिक्सेन पाक्साँवा

मिक्सेन पाक्साँवा तेह्रथुमबाट प्रदेश खबरको लागी कलम चलाउनुहुन्छ ।

सम्बन्धित समाचार