झापामा घाटीमा सुईले हानेर वृद्धको हत्या, अभियुक्त पक्राउ

शुक्रबार, २३ माघ २०८२
झापा : झापाको भद्रपुर नगरपालिका–१० धनुषमोडमा सुई प्रहारबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

बिहीबार साँझ भद्रपुर–१० धनुषमोड निवासी ६४ वर्षीय खेमराज ढकाललाई सिरहाको विष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय दिनेशकुमार सिंहले ढकालकै घरमा घाँटीमा सुई प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घाइते ढकाललाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो। अस्पतालमा परीक्षणपछि चिकित्सकले बिहीबार राति नै उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले सुई प्रहार गर्ने अभियुक्त दिनेशकुमार सिंहलाई सुईसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कानुनी प्रक्रियाका लागि प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा क्यारी टोली खटिएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय झापाबाट करिब दुई किलोमिटर पश्चिम–उत्तरतर्फ पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार