काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका प्रधानमन्त्रीका दाबेदार उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, जसलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ, आफैंले मत हाल्न पाउने छैनन्। शाह झापा क्षेत्र–५ बाट उम्मेदवार भएका छन्, तर काठमाडौं महानगरपालिकाका मतदाता हुन्।
चर्चित नेताहरू आफैंलाई भोट हाल्दैनन्
स्थानीय तह निर्वाचनमा उम्मेदवार सम्बन्धित स्थानीय तहभित्रै मतदाता हुनुपर्ने कानुनी व्यवस्था भए पनि प्रतिनिधिसभा निर्वाचनमा देशको जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन पाइने भएकाले, काठमाडौं महानगरपालिकाका नगरप्रमुख निर्वाचित शाहले राजीनामा गरेर झापा क्षेत्र–५ बाट उम्मेदवार बनेका हुन्।
झापा–५ लाई ‘रैथाने निर्वाचन क्षेत्र’ बनाउँदै आएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा क्षेत्र–५ का मतदाता होइनन्। उनी हरेकपटक यही क्षेत्रबाट चुनाव लड्ने भए पनि उनको मताधिकार भक्तपुर क्षेत्र–२ मा छ। ओलीले सुर्यविनायक नगरपालिका–२, बालकोटस्थित महेन्द्र शान्ति माविबाट मत हाल्छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि आफ्नो मताधिकार क्षेत्र छोडेर सर्लाही क्षेत्र–४ बाट उम्मेदवार भएका छन्। कांग्रेस विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापालाई पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि भए पनि आफैंले मत हाल्न पाउने छैनन्। प्रचण्ड लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट उम्मेदवार भए पनि उनको मताधिकार चितवनमा छ।
लोकतन्त्रमा चुन्ने र चुनिने अधिकार सँगसँगै भएकाले, आफ्नो मताधिकार रहेको क्षेत्रबाहिर गएर उम्मेदवार बन्ने नेताहरूलाई स्थानीयहरूले प्रायः ‘टुरिस्ट’ भन्दै आलोचना गरिरहेका छन्।
निर्वाचन मामिलाका जानकारले भन्छन्, “नागरिकले आफ्नो भूगोल, भावना र नजिकका व्यक्तिलाई जनप्रतिनिधि होस् भन्ने चाहना राख्ने भएकाले, क्षेत्रबाहिरबाट उम्मेदवार आउँदा अलि भिन्न व्यवहार हुने गर्छ।”
चर्चित नेताहरू ‘टुरिस्ट’
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पनि काठमाडौं क्षेत्र–३ का मतदाता भए पनि चितवन क्षेत्र–२ बाट उम्मेदवार बनेका छन्। उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचन र उपनिर्वाचनमा पनि आफैंलाई मत हाल्न पाएका थिएनन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, राप्रपा नेता रविन्द्र मिश्र, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, तथा राजिव खत्री पनि आफ्नै मताधिकार क्षेत्रबाहिर गएर उम्मेदवार बनेका छन्। उनीहरू सबैले मत माग्दै निर्वाचन क्षेत्र दौडिरहेका छन्, तर आफैंलाई मतदान गर्न पाउने छैनन्।
पौडेल तनहुँ क्षेत्र–२ का मतदाता भए पनि काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार बनेका छन्। मिश्र ललितपुर क्षेत्र–३ का मतदाता भए पनि काठमाडौं क्षेत्र–१ बाट चुनावी प्रतिस्पर्धामा छन्। वाग्ले गोरखाका स्थायी बासिन्दा भए पनि तनहुँ क्षेत्र–१ बाट उम्मेदवार भएका छन्।
यसरी, अधिकांश चर्चित नेता आफ्नो मताधिकार क्षेत्रबाहिर गएर उम्मेदवार भएको र मत मागिरहेको अवस्थामा नागरिकहरूले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा उनीहरूलाई हेर्ने गरेका छन्। (राजधानी दैनिकबाट साभार)
प्रतिक्रिया