झापा : प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले मुलुकमा राजश्व संकलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनु पर्ने अवस्था आएको बताएका छन् । उनले मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको बताए ।
वीरता जेसीजको आयोजनामा बिर्तामोडमा भएको ‘संकटपछिको देशको अर्थतन्त्र स् अवसर र चुनौति’ विषयक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले निजी क्षेत्रलाई लगानी गर्ने बातावरणका लागि सुरक्षाको ग्यारेन्टी गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।
फरक प्रशंगमा बोल्दै सभामुख घिमिरेले आगामी निर्वाचनलाई लिएर राजनीतिक दलबीच अविश्वास बढेको बताएका छन् । निर्धारित समायमा सरकारले निर्वाचन गराउने विषयमा छलफल हुनु पर्ने समयमा दलहरुबीच अविश्वास बढ्दा देश झन् अनिर्णयको बन्दी हुने त होइन भन्दै शंका व्यक्त गरे ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लिड नेपालका प्रधानसम्पादक राजेन्द्र बानिया, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकारसमेत सहभागी थिए । कार्यक्रममा देशको वर्तमान आर्थिक स्थिति र आगामी सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरताले अर्थतन्त्रले गति लिन नसकेको टिप्पणी गरेका छन् । उनले देश विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य भएको भन्दै आफ्नो–आफ्नो भूमिकामा न्याय गर्न सके धेरै समस्या समाधान हुने बताए । उनले मुलुकमा पछिल्लो समय नकारात्मक सोच हावी भएका कारण नागरिकमा निराशा बढेको धारणा राखे ।
औपचारिक कार्यक्रमपछि ‘संकटपछिको देशको अर्थतन्त्र : अवसर र चुनौति’ विषयक प्यानल डिस्कसन भएको थियो । पत्रकार राजेन्द्र वानियाले सहजीकरण गरेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमवहादुर मिश्रले सहभागीता जनाएका थिए । उनीहरुले समग्र मुलुुकको आर्थिक विषयमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया