झापा- ४ को लेखाजोखा : ४८ को आम निर्वाचनपछि एमालेलाई रोक्ने बुढाथोकी मात्रै, यसपाली के होला ?

शुक्रबार, २३ माघ २०८२

झापा : २०४६ मा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात् २०४८ मा आम  निर्वाचन भयो । जतिवेला झापा ७ वटा निर्वाचन क्षेत्रमा विभाजीत थियो । त्यस क्रममा झापा क्षेत्र नम्वर ५ मा नेकपा एमालेका उम्मेद्वार चन्द्रप्रकाश मैनाली १८ हजार ८९२ मतका साथ निर्वाचित भए । 

उनले नेपाली कांग्रेसका उम्मेद्वार रामवावु प्रसाईलाई पराजीत गरेका थिए । प्रसाईले सो निर्वाचनमा ११ हजार ९४८ मत प्राप्त गरेका थिए । २०५१ सालमा भएको आम निर्वाचनमा पनि १६ हजार ३६१ मतका साथ नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण मैनाली निर्वाचित भए । 

उनले नेपाली कांग्रेसका उम्मेद्वार सूर्यनारायण ताजपुरियालाई पराजीत गरेका थिए । ताजपुरियाले १३ हजार ८९८ मत प्राप्त गरेका थिए । २०५६ मा भएको आम निर्वाचनमा नेकपा एमालेका तारा सम योङ्ग्या १९ हजार १९९ मतका साथ निर्वाचित भए । 

उनले नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष कुमार मेयाङ्वोलाई पराजीत गरेका थिए । उनले १६ हजार ६५१ मत प्राप्त गरेका थिए । 

लगातार तीन पटकको निर्वाचनमा सहज जीत निकालेको नेकपा एमालेलाई ब्रेक लगाउन नेपाली कांग्रेसका उम्मेद्वार केशवकुमार बुढाथोकी(स्व.) निस्किए । 

मुलुकमा १० वर्षे सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना भएसंगै २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट १६ हजार ४७७ मतका साथ केशवकुमार वुढाथोकी निर्वाचित भए । 

उनले नेकपा माओवादीका उम्मेद्वार हर्कवहादुर खड्का (१५ हजार ५४८) लाई पराजीत गरेका थिए ।  

पहिलो संविधान सभाबाट निर्वाचिन प्रतिनिधिले संविधान निर्माण गर्न नसकेपछि २०७० सालमा पुनः दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा पनि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका वुढाथोकीले १६ हजार ५८७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेद्वार लालप्रसाद सावा लिम्बूलाई पराजीत गरे । 

लिम्बूले सो निर्वाचनमा १६ हजार ३४७ मत प्राप्त गरेका थिए । अर्थात नेकपा एमालेका उम्मेद्वार लिम्बूलाई उनले २४० मतको अन्तरले पछि पार्दै नेपाली कांग्रेसको साख जोगाएका थिए । 

त्यसपछि झापामा निर्वाचन क्षेत्र घटाइयो । सात वटा निर्वाचन क्षेत्र रहेको झापा ५ वटा निर्वाचन क्षेत्रमा सीमित बन्यो । तत्कालीन झापा ५ लाई निर्वाचन क्षेत्र घटाइएसंगै क्षेत्र नम्वर ४ मा रुपान्तरण गरियो । 

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट पुनः लालप्रसाद साँवा लिम्बू उम्मेद्वार भए । उनले नेपाली कांग्रेसका उम्मेद्वार देउकुमार थेवे लिम्बूलाई पराजीत गर्दै एमालेको पुरानो विरासत फर्काए । 

२०७४ को निर्वाचनमा एमालेका उम्मेद्वार लिम्बूले ४३ हजार ५१५ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार थेवेले २६ हजार ८२२ मत मात्र प्राप्त गरे । अर्थात १६ हजार ६९३ मत अन्तरले एमालेका उम्मेद्वार साँवा निर्वाचित भएका थिए । 

यता २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचमा पनि एमालेले नै यो निर्वाचन क्षेत्रबाट जीत निकाल्यो । यस पटक पनि नेपाली कांग्रेसका उम्मेद्वार थेवेलाई नेकपा एमालेका उम्मेद्वार साँवाले नै पराजीत गरे । 

साँवाले यो निर्वाचनमा २९ हजार ३१५ मत प्राप्त गरे । यस पटक पनि नेपाली कांग्रेसका उम्मेद्वार थेवेले २२ हजार ४४८ अर्थात ३० प्रतिशत मतान्तरका साथ विजयी भए ।  

२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भूप्रसाद ढकालले १४ हजार ०६९ मत ल्याउँदै तेस्रो स्थान हाँसिल गरे ।  

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवारले यो पटक पनि मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारको संख्या मात्र होइन, उनीहरूले प्रतिनिधित्व गर्ने राजनीतिक धार, विचार र पृष्ठभूमिका कारण यसपटकको चुनावलाई सामान्य प्रतिस्पर्धाभन्दा फरक रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएको रास्वपाका उम्मेद्वार सम्भू प्रसाद ढकाल (सुस्केरा) पनि यो पटक मनोनयन दर्ता गराउँदै प्रतिष्पर्धामा छन् । 

झापा–४ को निर्वाचन अब परम्परागत कांग्रेस–एमाले प्रतिष्पर्धामा मात्र सीमित नरही नयाँ शक्तिको सम्भावित उदय र पुराना दलको आधार कति मजबुत छ भन्ने परीक्षणको चरणमा पुगेको छ ।

बहुदलीय भिडन्तको क्षेत्र

नेपाली कांग्रेसबाट देउ कुमार थेबे, नेकपा एमालेबाट लालप्रसाद साँवा लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाल (सुस्केरा), नेकपा माओवादीबाट ताराबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्ति प्रसाद सिटौला, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल (राजु), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लिङ्गदेन, नेपाल मजदुर किसान पार्टीबाट तुलसी लक्ष्मी दुमरु, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलिप धिमाल, जनता समाजवादी पार्टी नेपालबाट पल्टन ताजपुरिया, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–पुष्पलाल) बाट टेकबहादुर अधिकारी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्र उम्मेदवार साजन माझी चुनावी मैदानमा छन् । 

झापा–४ को निर्वाचनलाई समिक्षा गर्दा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा मुख्य रहँदै आएको छ । विगतमा भएको निर्वाचनको नतिजा होर्दा यो निर्वाचन क्षेत्रमा नेकपा एमालेको आधार बलियो भए पनि घट्दो क्रममा रहेको संकेत गर्छ, जबकि कांग्रेस दोस्रो स्थानमै सीमित देखिन्छ ।

नयाँ शक्ति र वैकल्पिक धार

२०७९ सालको निर्वाचनमा पहिलोपटक सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले झापा–४ मा उल्लेख्य प्रभाव देखाएको थियो । रास्वपाका उम्मेदवार ढकाल तेस्रो स्थानमा रहँदै रास्वपाको उपस्थिति सशक्त रहेको देखाए । यसले कांग्रेस–एमालेको परम्परागत प्रतिस्पर्धाबाहिर पनि वैकल्पिक राजनीतिक धारप्रति मतदाताको आकर्षण रहेको स्पष्ट संकेत दिएको थियो । 

त्यसैगरी, २०७९ को निर्वाचनमा राप्रपाबाट विद्रोह गरेर उम्मेद्वार बनेकी खुश्बु ओली, स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलले करिब १९ हजार मत तानेका थिए । 

यसले झापा–४ मा मत विभाजन कति निर्णायक हुन सक्छ भन्ने देखाएको थियो । यसपटक पनि १६ उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना अझै बढाएको छ ।

यस निर्वाचनमा केही उम्मेदवार युवा पुस्ताबाट आएका छन् । उनीहरूले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, रोजगारी, शिक्षा–स्वास्थ्य सेवा सुधार र प्रभावकारी सेवा प्रवाहजस्ता मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

वैदेशिक रोजगारीमा रहेका मतदाताका परिवार, युवा मतदाता र शहरीकरणको प्रभाव बढ्दो क्षेत्र भएकाले परम्परागत दलप्रति असन्तुष्टि देखिने वर्ग पनि यहाँ उल्लेख्य छ । यही वर्ग नयाँ दल र स्वतन्त्र उम्मेदवारको सम्भावित आधार मानिन्छ ।

तर अर्कोतर्फ, संगठन, आर्थिक स्रोत, स्थानीय संरचना र मतदाता परिचालन क्षमताका हिसाबले कांग्रेस र एमाले अझै बलिया छन् । यही कारणले नयाँ शक्तिका लागि परिणाम उल्ट्याउनु सजिलो छैन । 

मतदाताको असन्तुष्टि भए पनि त्यो असन्तुष्टि एकीकृत मतमा परिणत हुन नसकेमा त्यसको प्रत्यक्ष फाइदा ठूला दललाई नै पुग्ने सम्भावना रहन्छ ।

कसलाई फाइदा, कसको जोखिम ?

झापा ४ को पछिल्ला मत परिणामलाई विश्लेषण गर्दा  एमालेको आधार अझै मजबुत देखिए पनि मत घट्दो क्रममा छ । कांग्रेस दोस्रो स्थानमा रहे पनि निर्णायक फड्को मार्नुपर्ने दबाबमा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दल मुख्यतः मत काट्ने भूमिकामा देखिन्छन् । साना दल र स्वतन्त्र उम्मेदवारले केही हजार मत तानेमा त्यसको असर मुख्य प्रतिस्पर्धी दलहरूमा पर्न सक्छ ।

यदि वैकल्पिक शक्तिहरूले संगठित रूपमा मत आकर्षित गर्न सके भने कांग्रेस र एमाले दुवैलाई झट्का लाग्न सक्छ । तर मत धेरै साना दलमा छरिएमा अन्ततः ठूला दलले नै त्यसको लाभ उठाउने सम्भावना बढी छ ।

झापा–४ को निर्वाचन अब दुई दलबीचको साधारण प्रतिस्पर्धा मात्र रहेन । यो पुराना राजनीतिक शक्तिहरू र नयाँ वैकल्पिक धारबीचको परीक्षा बनेको छ । नयाँ पार्टी र युवा उम्मेदवारले राजनीतिक बहसलाई ताजा बनाएका छन्, तर परिणाम परिवर्तन गर्न उनीहरू अझै एकीकृत रणनीति, स्पष्ट सन्देश र प्रभावकारी संगठनसहित मैदानमा उत्रिनुपर्ने देखिन्छ । 

पुराना दलको वर्चस्व कायम रहने कि नयाँ शक्तिको उदय हुने भन्ने निर्णय झापा–४ का मतदाताले फागुन २१ मा गर्नेछन् ।
 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार