भारतको कोइलाखानी विस्फोटमा खोटाङका एकाघरका दाजुभाइको मृत्यु

शुक्रबार, २३ माघ २०८२

खोटाङ : भारतको मेघालय राज्यस्थित एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ।

बिहीबार मेघालयको उम्साङघाट क्षेत्रमा रहेको कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१, बराहपोखरी सालघारी निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र उनका २४ वर्षीय भाइ सुरेन्द्र खपाङ्गीको ज्यान गएको हो।

घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी तथा उदयपुर साउनेका ललित मगर घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

उक्त घटनामा ७ जनाको टोलीमध्ये बराहपोखरी बालम्पाका ताराबल मगर भने सकुशल रहेका छन्। ताराबलले फोनमार्फत घटनाको जानकारी दिएको भन्दै छिमेकी शिवकुमार श्रेष्ठले पुष्टि गरेका छन्।

उनीहरू रोजगारीको खोजीमा गत पुस ३ गते मेघालय गएका थिए। खोटाङका विभिन्न स्थानका स्थानीयहरू रोजगारीका लागि मेघालय जाने क्रम बढ्दो रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार