म्याग्दी : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आएका पुनको सक्रियताले यहाँको राजनीतिमा तरंग ल्याएको छ। राष्ट्रिय राजनीतिमा सिर्जना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिको उदय, प्रतिस्पर्धी उम्मेदवारको प्रभाव तथा सम्बद्ध दल र उम्मेदवारको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति चासो बढेको बेनीका धनञ्जयकुमार श्रेष्ठले बताए।
उनले भने, “विगतका चुनावमा राष्ट्रिय स्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उम्मेदवारीले चर्चामा ल्याएको छ। राजनीतिक दलको साङ्गठनिक आधार र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यसपालि म्याग्दीको चुनाव रोचक बनेको हो।”
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुव)लाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा पनि उम्मेदवार बनेका छन्।
सार्वजनिक रूपमा स्वतन्त्र उम्मेदवार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायमै छ। एमालेका श्रेष्ठ दोस्रोपटक उम्मेदवार बनेका हुन् भने बाँकी सबै पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका छन्। विसं २०७४ यता यसपालि दलहरूबीच गठबन्धन नगरी प्रतिस्पर्धा हुन लागेको हो।
विसं २०७९ मा प्रतिनिधिसभामा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) विजयी भएका थिए। प्रदेशसभाको १ (१) र (२) मा गठबन्धनबाट माओवादीका हरि भण्डारी र रेशम जुग्जाली (सुविन) निर्वाचित भएका थिए।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका भूपेन्द्र थापा तत्कालीन वाम गठबन्धनबाट विजयी हुँदा प्रदेशसभाको १ (१) मा माओवादीका विनोद केसी र (२) मा एमालेका नरदेवी पुन विजयी भएका थिए। विसं २०७० को संविधानसभा दोस्रो निर्वाचनमा एमालेका हालका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा विजयी भएका थिए।
विसं २०६४ को संविधानसभा पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल, २०५६ को संसदीय चुनावमा नेपाली कांग्रेसका नारायणसिंह पुन र त्यसअघि एमालेका निल पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले ९ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ५७९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २५३ र नेकपा एकीकृत समाजवादीले २८५ मत पाएका थिए।
उक्त निर्वाचनमा माओवादी, एकीकृत समाजवादी, जनमोर्चासहितका दलको समर्थन पाएका नेपाली कांग्रेसका गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले २० हजार १८९ मत पाएका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकवटा निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता छन्। ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलोका लागि गाउँ पसेका छन्। राजनीतिक गतिविधिले ग्रामीण क्षेत्रमा चहलपहल बढाएको छ। धवलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापाले सबै दल र उम्मेदवारका कुरा सुनेर निर्णय लिने बताए।
उनले भने, “भोट माग्न आउने सबै उम्मेदवारलाई स्वागत गर्ने र उनीहरूका योजना सुन्ने हो। जनताको मन र विश्वास जित्ने उम्मेदवारले मत पाउँछ।” अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगवीर पाइजाले मतदाताहरू सबैका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा रहेको बताए।
म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सुशासन कायम गर्ने, ढिलासुस्ती हटाउने तथा कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया