बैतडीमा जन्ती बस दुर्घटना: बेहुला–बेहुली सकुशल, १३ जनाको मृत्यु (नामावलीसहित)

शुक्रबार, २३ माघ २०८२
बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको थियो। बिहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएकोमा डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएपछि मृतक संख्या १३ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले दिएको जानकारी अनुसार उपचारका क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्। त्यस्तै बझाङको केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट तथा बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ।

यसअघि घटनास्थलमै ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्। साथै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला पनि मृतकको सूचीमा छन्।

दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङस्थित देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ। बेहुला–बेहुली भने अर्को गाडीमा भएकाले सकुशल रहेको प्रहरीले जनाएको छ।

जन्ती बोकेको बस बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार