गोवा : भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूको अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि रहेको बताइएको छ। शनिवार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको प्रहरीको विश्वास छ।
गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँतल्लाको भान्सा क्षेत्रमा भएको र आगो नियन्त्रणमा ल्याइएको जानकारी दिए। अधिकांश शवहरू भान्सा वरपर फेला परेकाले पीडितहरू क्लबका कर्मचारी नै भएको सङ्केत मिलेको पनि उनले बताए।
द इन्डियन एक्सप्रेसका अनुसार यो आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक, बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको हो।
मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारहरूलाई बताएका अनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको हो। उनको भनाइमा ‘तीन वा चार’ पर्यटकको मृत्यु भएको छ, तर उनीहरूको उमेर र राष्ट्रियता खुल्न बाँकी छ।
आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको र लापरबाही गर्नेहरूलाई कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले बताएका छन्।
प्रतिक्रिया