सुनसरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरी जिल्लामा राजनीतिक चहलपहल तीव्र बनेको छ। आगामी पौष २५ गतेदेखि सुरु हुने महाधिवेशनलाई सफल बनाउन जिल्लाभरि पार्टीभित्र आन्तरिक तयारी र सङ्गठनगत सक्रियता उल्लेख्य रूपमा बढेको छ।
आज नेपाली काँग्रेस सुनसरीको सङ्गठन विभागले जिल्ला कार्यकर्तालाई विशेष भेला गर्दै तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न सबैलाई एक ढिक्का भएर लाग्न आह्वान गरेको छ।
सङ्गठन विभाग प्रमुख सञ्जय श्रेष्ठले महाधिवेशन सङ्घारमा आइपुगेकाले सदस्यता नवीकरण तथा सक्रिय सदस्यता छिटो टुङ्ग्याउनै अहिलेको मुख्य दायित्व भएको बताए।
अघिल्लो महाधिवेशनमा भएका कमजोरी नदोहोर्याउन आग्रह गर्दै उनले भने—“काङ्ग्रेसमाथि अहिले चौतर्फी आक्रमण भइरहेका छन्, यस्तो बेला फुटेर होइन, एकजुट भएर अघि बढ्नुपर्ने घडी हो। काँग्रेस हो भने तपाईँ नै जिम्मेवार बन्नुपर्छ, पार्टी आफैँ बलियो बन्छ।”
नेपाल विद्यार्थी संघ सुनसरीका पूर्व जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि परमानन्द महेत्ताले सक्रिय सदस्यता लिन हिचकिचाउने तर आस्थामा काँग्रेस हुँ भनी देखाउने पुरानो संस्कार अब त्याग्नुपर्ने टिप्पणी गरे। “सक्रिय नभई केवल आस्थाले काँग्रेस हुँदैन, सदस्यता वितरणमा १०० प्रतिशत’ दिएकोजस्तै भ्रम फैलाउनु गलत हो,” उनले भने।
नेता सुनोज निरौलाले यस पटक समय निकै सीमित भएकाले सुनसरीका १२ पालिका र १२४ वडामा जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। त्यस्तै वराहक्षेत्रका नेता रोशन खड्काले काँग्रेसलाई जीवन्त राख्न सङ्गठन विभागकै भूमिका निर्णायक हुने उल्लेख गर्दै चेतावनी दिए—
“सक्रिय सदस्यता लिने तर चुनावमा एमालेलाई साथ दिनेहरूलाई चिन्नुपर्छ। जेनजी आन्दोलनका अभियन्तालाई पनि पार्टीभित्र समेटेर लैजानुपर्छ।”
इनरुवाका नगर सभापति राजन मेहताले महाधिवेशन नजिकिँदै गर्दा सबै तह–तत्काका नेताले जिम्मेवारीपूर्वक सक्रियता जनाउनुपर्ने बताए। “महाधिवेशन केवल निर्वाचन होइन, सङ्गठन मजबुत पार्ने अवसर पनि हो, सबैले आफ्नो भूमिका स्पष्ट रूपमा निभाउनुपर्छ,” उनले भने।
प्रतिक्रिया