गोवामा आगलागीमा परेर मृत्यु भएका पाँच नेपालीको शव नेपाल ल्याउने तयारी

विहीबार, २५ मंसिर २०८२

काठमाडौँ : भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल सुरु गरेको छ।

उक्त नाइटक्लबको भान्सामा सिलिन्डर विस्फोट हुँदा आगो फैलिँदा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। ६ जना भन्दा बढी घाइते भएका थिए।

गोवा प्रहरीले मृत्यु हुने नेपाली नागरिकमा दाङका ३१ वर्षीय चूर्णबहादुर पुन, सिन्धुलीका विवेक (लीलबहादुर) कटुवाल, झापाका सबिन विश्वकर्मा, सुदीप गुरुङ र डडेलधुराका मनोज जोरा रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार मृतक पाँचै जनाको सनाखत भइसकेको छ। दिल्लीस्थित नेपाली दूतावास र त्यहाँ कार्यरत अन्य स्थानीय नेपालीको समन्वयमा शव नेपाल ल्याउने तयारी भइरहेको छ। दूतावासले आवश्यक कागजात बनाइसकेको छ।

गोवा प्रहरीले सहयोग गरी चूर्णबहादुरको शव एयर एम्बुलेन्समार्फत लखनउ पठाइने र त्यहाँबाट शव वाहनमार्फत घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। अन्यको शव नेपाल पठाउने प्रयास समेत जारी छ र स्थानीय नेपालीहरूले आर्थिक सहयोग गर्दै सहयोग गरिरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार