धनकुटाका १ हजार २८६ किशोरीलाई एचपीभी खोप दिइने

शुक्रबार, २३ माघ २०८२

धनकुटा । धनकुटामा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता अभियान अन्तर्गत विद्यालय केन्द्रित रूपमा माघ २७ देखि २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रमबाट जिल्लाका १ हजार २८६ जना किशोरी लाभान्वित हुनेछन् । जसमध्ये १ हजार २५७ जना विद्यालयमा अध्ययनरत छात्रा र २९ जना विद्यालय बाहिर रहेका किशोरी तथा बालिका रहेका छन् । १० देखि १४ वर्ष उमेर समूहका किशोरी, कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका सोही उमेर समूहका सबै किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य प्रमुख सिर्जना बन्जाडेले जानकारी दिइन् ।

उनका अनुसार गत वर्ष धनकुटामा ६ हजार ९ सय ११ जनालाई एचपीभी खोप दिइएको थियो । पाठेघरको मुखको क्यान्सर समयमै स्क्रिनिङ गरेमा पहिचान र उपचार सम्भव भए पनि समुदायमा परीक्षण दर कमजोर रहेको उनले बताइन् । जिल्लामा हाल स्क्रिनिङ दर जम्मा ४ प्रतिशत मात्र रहेको छ । लाज, सङ्कोच र खोपबारेका भ्रमका कारण महिलाहरू स्वास्थ्य संस्थामा परीक्षणका लागि नआउने गरेको बन्जाडेको भनाइ छ ।

जिल्ला खोप समन्वय समिति धनकुटाका अध्यक्ष निरेन तामाङले खोप कार्यक्रमलाई प्रभावकारी र पहुँचयुक्त बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक रमेश बाराकोटीले विश्वमा हुने पाठेघरको मुखको क्यान्सरमध्ये करिब ९० प्रतिशत ह्युमन प्यापिलोमा भाइरसकै कारण हुने उल्लेख गर्दै कुनै पनि किशोरी खोपबाट नछुट्ने गरी अभियान सञ्चालन गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयले अभिभावक र विद्यालयलाई खोप कार्यक्रममा सक्रिय सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

विनोद घिमिरे
लेखकको बारेमा
विनोद घिमिरे
घिमिरे धनकुटाबाट पत्रकारितामा सक्रिय छन् ।

सम्बन्धित समाचार