एनपीएल : रोसिङटनको अर्धशतकमा पोखराको सहज जित, चितवन ८ विकेटले पराजित

शनिबार, २० मंसिर २०८२

काठमाडौं : एडम रोसिङटनको अर्धशतकसहित पोखरा एभेन्जर्सले शनिबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो।

यसअघि नै दुवै टिम प्लेअफ दौडबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठामात्र थियो।

पोखराले लिग चरणको अन्तिम खेलमा तेस्रो जित निकाल्दै ७ खेलमा ६ अंकसँग पाँचौं स्थानमा रह्यो। चितवनले ७ खेलमा ४ अंकसहित लिग सकेको छ।

पोखराका लागि रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्का सहित ६५ रन बनाए। उनका ओपनिङ साझेदार अर्जुन कुमालले डेब्यु खेलमै अविजित ४३ रन जोडे। दुवैले पहिलो विकेटका लागि १०० रनको साझेदारी गरे।

चितवनले पहिले व्याटिङ गर्दै २० ओभरमा ६ विकेटमा १२० रन बनाएको थियो। देव खनालले ३५ रन र अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए। पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।

अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार