रोजगारीको खोजीमा भारत पुगेका खोटाङका दाजुभाइको कोइलाखानी विस्फोटमा मृत्यु, ४ जना गम्भीर घाइते

शुक्रबार, २३ माघ २०८२

खोटाङ : भारतको मेघालयमा रहेको एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका दुई युवाको मृत्यु भएको छ। घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन्। 

विस्फोटमा परेर बराहपोखरी गाउँपालिका निवासी एकै घरका दुईजना दाजुभाइको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर छन्।

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार विस्फोट भएको हो। 

उनीहरु खड्गबहादुर खपाङ्गी मगर र टङ्ककुमारी खपाङ्गी मगरका छोरा हुन्। पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ रहेका स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए। 

विस्फोटको घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। 

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल छन्। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन्। 

दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिएका छन। “दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु।

यहाँ कोही चिनेजानेका मानिस छैनन्। चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु”, उनले टेलिफोनमा भने, “घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको। उनीहरूको पनि अवस्था चिन्ताजनक छ। यसप्रति सम्बन्धित निकायको ध्यान जाओस्।”

दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएका थिए। मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित थिए। 

रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्यहरु शोकमा छन्। खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन्। 

भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन्। 

ज्यान गुमाउनेको परिवारलाई रु दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। घाइतेहरूलाई रु ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन्। 

 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार