सुदीप राउत
सिरहा : तीन वर्षीया दिवान्सी फेरि सोध्छिन्, “मम्मी, बाबा खोइ ?”
अमिरिका चौधरी केही बोल्न खोज्छिन्, तर गला भरिएर शब्द निस्कँदैन। काखमा छोरी, आँखामा आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर।
बाहिर देशभर चुनावी र्याली र माइकिङको आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका छन्। तर लहान–१५ को यो सानो घरभित्र त्यो कोलाहलले सन्नाटा झनै गहिरो बनाएको छ। मानौँ, बाहिरको उत्सवले यहाँको शून्यतालाई गिज्याइरहेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छ। टोलटोलमा भेला छन्, घरघरमा उम्मेदवारका प्रतिबद्धता सुनिन्छन्। तर अमिरिकाका लागि यी दृश्य उत्सव होइनन्, पीडादायी पुनरावृत्ति हुन्। हुलमुल र नारा देख्नासाथ उनको मन त्यही दिनतिर फर्किन्छ, जहाँबाट सिन्दूर र छोरीको भविष्य सधैँका लागि धुमिल भयो।
लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी थिए। सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका विजयलाई आन्दोलनको पहिलो दिन प्रहरीको गोली लागेको थियो। साथीहरूले तत्काल सिभिल अस्पताल पुर्याए पनि उनको ज्यान बच्न सकेन।
घरको कान्छो छोरा, जसको काँधमा आमाबुबाको औषधि र छोरीको भविष्य टिकेको थियो, कहिल्यै नफर्कने गरी गयो। विजय पाँच वर्षदेखि काठमाडौँमा हाउस वायरिङको काम गर्थे। उनको कमाइले घर चल्थ्यो—आमाबुबाको औषधि, घरखर्च र छोरीको भविष्य। उनी शान्त स्वभावका थिए, तर अन्यायविरुद्ध चुप नबस्ने बानीले उनलाई आन्दोलनसम्म पुर्यायो।
विजयको मृत्युको खबर सुन्नासाथ दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किए। तर परिवारले उनको जिउँदो मुख देख्न पाएन। घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत शव लहान ल्याइयो। घरव्यवहार धान्ने मुख्य सदस्यको शव बुझ्नुको पीडा परिवारले अझै भुल्न सकेको छैन।
विजयकी आमा जलेश्वरी देवी मोबाइलमा छोराको फोटो हेरेर चित्त बुझाउने प्रयास गर्छिन्। काखमा सानी नातिनी लिएर टोलाउँछिन्। कहिलेकाहीँ नातिनीले मन बहलाउँछिन्—सहिद विजयले छाडेर गएको अन्तिम चिनो।
छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिकाको मन पोल्छ। अवोध बालिकालाई सम्झाउने शब्द छैन। उनी भन्छिन्, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ।” तर यो झुटो आश्वासनले मन अझ भारी हुन्छ।
मम्मीभन्दा बढी बाबासँग लुटपुटिएर बस्ने दिवान्सी अहिले हरेक भीड र आवाजमा बाबालाई खोजिरहेकी हुन्छिन्। चुनावी र्यालीका चर्का नाराले विजयकी आमाको पुरानो पीडा झनै ताजा बनाउँछ। “छोरो बाँचेको भए ऊ पनि चुनावमा लाग्थ्यो,” जलेश्वरी देवी भन्छिन्, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ।”
चुनावी अभियान सुरु भएदेखि अमिरिका उकुसमुकुसमा छिन्। बाहिर राजनीति चलिरहँदा उनी भित्रभित्रै जीवन सम्हाल्न संघर्ष गरिरहेकी छिन्। “जे माग राखेर सहिद भए, ती माग पूरा होउन्। जसले श्रीमानलाई मार्यो, उसलाई कानुनी कारबाही होस्। नेपाली जनताले फेरि दुःख नपाऊन्, फेरि आन्दोलन नहोस्, कोही सहिद बन्न नपरोस्,” उनले भनिन्।
नगरपालिकाले उनलाई वडा कार्यालयमा करारको जागिर दिएको छ। त्यसले केही राहत दिएको छ, तर त्यो राहतले विजयको अभाव भरिँदैन। बाहिर चुनावी राजनीति चलिरहे पनि यो सहिद परिवार आफ्नै शोकसँग जुधिरहेको छ।
प्रतिक्रिया