२७ देखि २९ मङ्सिरसम्म काठमाडौँमा तय गरिएको ११औँ महाधिवेशन नजिकिँदै गर्दा एमालेमा रूपान्तरण र पुस्तान्तरणको बहस उत्कर्षमा छ। २३ र २४ भदौको जेनजी आन्दोलनले एमालेलाई सत्ताबाट सडकमा पु¥याएपछि यो एजेन्डाले अझ बल पाएको हो। तथापि, एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालको अनुमोदन गराउने तयारीमा छन्। यसका लागि उनले प्रतिनिधि छनोटमा मनोमानीदेखि ‘टीके सूची’ बाँड्ने तयारी गरेको आरोप छ।
यद्यपि यसपटक ओलीलाई कडा चुनौती दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिएका छन्। पोखरेलको उम्मेदवारीसँगै एमालेमा तीव्र ध्रुवीकरण भएको छ। के यो ध्रुवीकरणले एमालेको राजनीतिमा रूपान्तरण र नेतृत्वमा पुस्तान्तरण गर्ला? अहिलेका यक्ष प्रश्नको रूपमा रहेको यही सवालको सेरोफेरोमा रहेर एमाले युवा नेता योगेश भट्टराईसँग गरिएको संवादको मुख्य अंश:
एमालेको ११औँ महाधिवेशनमा केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा निश्चित भएको हो?
महाधिवेशन भन्ने बित्तिकै नीति, विचार र नेतृत्वका बारेमा छलफल हुन्छ। यद्यपि मुख्यतया हामीले विधान महाधिवेशनमा नै धेरै विषयमा छलफल गरेका छौँ। २३ र २४ भदौको आन्दोलनपछि ठुला बदलाव आएका कारण त्यसपछि आएको परिवर्तनलाई पनि समीक्षा गर्दै छलफल गर्नुपर्छ भनेका छौँ। नीति, विचार र कस्तो सङ्गठन बनाउने भन्ने विषयमा पनि महाधिवेशनमा छलफल हुन्छ।
महाधिवेशनको महत्त्वपूर्ण काम भनेको नेतृत्व चयन गर्नु हो। नेकपा एमालेमा जे खालको परम्परा चल्दै आएको छ, सहमतिपूर्वक नेतृत्व निर्वाचित गर्ने पनि एउटा परम्परा हो। तर छैटौँ महाधिवेशनपछि सातौँ महाधिवेशनमा सहमति भयो। त्यसपछि निर्वाचनमार्फत नेतृत्व चयन हुँदै आएको छ। यसपटक पनि राष्ट्रिय परिस्थिति, पार्टीभित्रको अवस्था, आमजनसमुदायको अपेक्षाजस्ता कुराले नेकपा एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने आवाज उठिरहेको छ। त्यस सन्दर्भमा हामी सहमति वा प्रतिस्पर्धापूर्वक नयाँ नेतृत्व चयन गर्नेछौँ।
ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिँदै छ। पोखरेल समूहको जित्ने आधार के हो?
हो, अहिले अध्यक्षमा दुई जना प्रतिस्पर्धी देखिएका छन्। उहाँहरूबिच प्रतिस्पर्धा हुन्छ। मुलुकको आवश्यकताको हिसाबले, आमजनचाहनाको हिसाबले, एमालेको सुन्दर भविष्यका लागि र पार्टीलाई एकताबद्ध गराएर लैजान नेतृत्व हस्तान्तरण अनिवार्य छ। त्यसका लागि ईश्वर पोखरेलको नेतृत्वमा नयाँ नेतृत्व चयन भएर पार्टीलाई नयाँ ऊर्जासहित अगाडि बढाउन आवश्यक छ।
ईश्वर पोखरेलले जित्ने आधार के हो?
पहिलो कुरा, कम्युनिस्ट पार्टी सामूहिकतामा विश्वास गर्छ। पार्टीमा व्यक्तिको महत्त्व पनि हुन्छ, तर सामूहिकता कम्युनिस्ट पार्टीको आत्मा हो। प्रतिस्पर्धा शालीन ढङ्गले गर्नुपर्छ। पार्टीमा कुनै चमत्कारिक ढङ्गले नेता हुने कल्पना गर्नु हुँदैन। चमत्कारिक ढङ्गले कोही आएमा छिट्टै अवसान हुन्छ।
ईश्वर पोखरेल पार्टीको इतिहाससँग जोडिएका व्यक्ति हुन्। उहाँले २०३२/०३३ सालदेखि कोके (कोअर्डिनेसन केन्द्र), माले, एमाले हुँदै आजको अवस्थामा पार्टीको विभिन्न तहमा काम गर्नुभएको छ। सबै कालखण्डमा पार्टीको अगुवा भागमा रहेर काम गर्नुभएको छ। लामो समय भूमिगत जीवन बिताउनुभएको छ। तराई, मधेसदेखि पहाडी जिल्लामा पनि पार्टीको काम गर्नुभएको छ। काठमाडौँको जनप्रतिनिधि भएर पनि काम गर्नुभएको छ।
सबै हिसाबले उहाँमा परिपक्व अनुभव छ। पार्टीको अन्तरआत्मा बुझ्ने र सामूहिक रूपमा पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता उहाँसँग छ। अर्को महत्त्वपूर्ण कुरा, पार्टीले बोकेको सिद्धान्त जबज (जनताको बहुदलीय जनवाद) जसलाई मदन भण्डारीले प्रतिपादन गर्नुभयो, त्यसमा ईश्वर कमरेड लामो समय काम गर्नुभएको छ। त्यस आधारमा पनि उहाँसँग जित्ने र पार्टी राम्रोसँग हाँक्ने आधार छ।
केपी ओलीको सर्वसत्तावादी शैलीलाई कसरी चिर्नुहुन्छ?
केपी ओलीका केही राम्रा गुणहरू छन्। नेपालको समकालीन नेतृत्वमा माथिल्लो उचाइ प्राप्त नेता हुनुहुन्छ। लामो जेल जीवन बिताउनुभयो, राजकीय भूमिकामा अनुभव छ। तर, उहाँले सरकार वा पार्टी नेतृत्वमा शक्तिको अतिकेन्द्रीकरण गर्नुभएको छ। पार्टीमा पनि सम्पूर्ण केन्द्रीकरण गर्ने शैली छ। हाम्रो सङ्गठनात्मक सिद्धान्त केन्द्रीकरण होइन, शक्ति पृथकीकरणको हो। त्यसैले, सामूहिकताको शैलीबाट पार्टी चलाउनुपर्ने थियो।
सजिलो छ र ओलीको हैकमवादी शैलीबाट पार्टीलाई जोगाउन सकिन्छ?
राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरणबाट मुक्त गर्न आवश्यक छ। यो नेपाली राजनीतिको ठुलो चुनौती हो। दलबलको र पैसाको प्रयोग भएको छ, जसले पार्टी र राज्यलाई आमजनताबाट टाढा पु¥याएको छ। यही कारणले जेनजी विद्रोह भयो। यो महाधिवेशन पार्टीलाई जनता र नागरिकतर्फ फर्काएर आत्मालोचना गर्दै अघि बढाउने अवसर हो।
प्रतिनिधि छनौटमा अस्वस्थ प्रतिस्पर्धा देखियो। यसमा के भन्नुहुन्छ?
पार्टी ठुलो छ। प्रतिनिधि छनोट संरचनागत प्रणालीबाट हुनुपर्छ। मैले सचिवालय बैठकमा अध्यक्षलाई भनेको थिएँ—देशभर एउटै सिस्टमबाट प्रतिनिधि छान्न। तर मानिएन। कतिपय जिल्लामा फरक ढङ्गले प्रतिनिधि छानियो। केही ठाउँमा सर्वसम्मत, केहीमा निर्वाचन बदर। पार्टीभित्र यसको समीक्षा हुनुपर्छ।
प्रतिनिधि छनौटको अवस्थाले महाधिवेशनमा के सङ्केत गर्छ?
अस्वस्थ, अराजनीतिक गतिविधि हुनुपर्छ भन्नेमा हामी सचेत छौँ। पार्टी पुनर्गठन र नेतृत्व चयन गरेर आगामी संसदीय र अन्य प्रतिस्पर्धामा श्रेष्ठ पार्टीका रूपमा स्थापित गर्ने लक्ष्य छ। प्रतिस्पर्धा हो, तर जित्नेले दम्भ देखाउने र हार्नेले निराश हुनु हुँदैन। स्वस्थ र मर्यादित प्रतिस्पर्धा गरौँ।
अध्यक्षले पद दिने लिस्ट बनाउनु भएको सुन्नमा के हो?
अध्यक्षले सहमतिपूर्वक पार्टी एकताबद्ध गर्न चाहनुभयो भने हामी तयार छौँ। तर त्यो बाटो नजाने भए प्रतिस्पर्धाका लागि पनि तयार छौँ। महाधिवेशनमा प्रतिनिधिलाई विधान अनुसार केन्द्रीय सदस्यमा उठ्नबाट रोक्न सकिँदैन।
भोलेन्टियर्स फोर्स र पदाधिकारी दबाबको विषयमा के भन्नुहुन्छ?
भोलेन्टियर्स फोर्स पार्टीको कार्यदिशासँग मेल खाँदैन। यसले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा तटस्थ रहनुपर्छ। पदाधिकारी वा केन्द्रमा रहेका नेतामा दबाब वा त्रासले प्रभाव पार्दैन। विवेक र निर्णयमा शङ्का छैन।
प्रतिनिधि छनोटमा ५३ प्रतिशत सदस्य सहभागी भएनन्। के सङ्केत हो?
सूचना सबैसम्म पुगेन, वैचारिक बहस तलसम्म आएन। नेतृत्व र सङ्गठन पुनर्गठनको खाँचो छ। नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने विचार बोक्ने नेतालाई तलसम्म गएर विचार प्रस्तुत गर्ने अवसर दिनु आवश्यक थियो।
एमाले खिइँदै गएको हो?
मुख्य कुरा नेतृत्वको जबाफदेहिता हो। पार्टीभित्र समस्या आउन सक्छ। आजको दिनमा पार्टी मजबुत बनाउने, राष्ट्रिय एकता बलियो राख्ने, सार्वभौमसत्ता र सम्बन्ध सन्तुलन कायम गर्ने पार्टी एमाले नै हो। कमीकमजोरीका बाबजुद पनि लोकतान्त्रिक, देशभक्त, वामपन्थी पार्टी हो।
पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खारेज हुनु किन?
पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यता खारेजी प्रश्न पेचिलो बनाएको छ। सदस्यता नवीकरण अध्यक्षको सहमतिमा सङ्गठन विभागले गरेको थियो। तर, पछिल्ला दिनमा अध्यक्ष त्यसको विरुद्धमा उभिनुभयो। यो समस्या एकदिन सच्चिन्छ।
जेनजी आन्दोलनपछि रूपान्तरण र पुस्तान्तरणको माग महाधिवेशनले सम्बोधन गर्नसक्छ?
मार्क्सवादी दृष्टिले, बस्तुगत परिवर्तनले चेतनामा पनि परिवर्तन ल्याउँछ। भदौ २३/२४ का घटनाले नेपालको राजनीतिक अवस्था बदलेको छ। जेनजीले सुशासन, भ्रष्टाचार उन्मूलन, सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने र पार्टी नेतृत्वमा पुस्तान्तरणको माग राखेका थिए। आन्दोलनमा विध्वंस र अपराध निन्दनीय छ।
पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणका बारेमा के गर्नुहुन्छ?
महाधिवेशनले जेनजी आन्दोलनमा उठेका मागहरूलाई सम्बोधन गर्दै पार्टीलाई रूपान्तरण, पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्ने ऐतिहासिक अवसर बनाउनेछ।
२०६२ पछिको २० वर्षमा जिम्मेवारीको समीक्षा गर्नुहुन्छ?
सही कुरा हो। हामीले आफूलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्छ। समाजमा सुधार र प्रगति भएका छन्। तर युवाहरूको पीडा सम्बोधन हुन सकेन। पार्टी सञ्चालन र राज्य नीतिमा कमी भएमा समीक्षा गरेर आत्मालोचना गर्नुपर्छ।
२१ फागुनमा निर्वाचनपछि एमालेको अवस्था के होला?
निर्वाचनको वातावरण अहिले सहज छैन। सरकारले वातावरण बनाउनुपर्छ। यदि वातावरण बन्यो भने, एमाले जनतासँग आफ्नो एजेन्डा लिएर जानेछ, आत्मालोचना गर्दै जनतासँग जानेछ।
मुलुक समृद्धिको बाटोमा अघि बढाउन, बलियो राष्ट्रिय शक्ति आवश्यक छ। वामपन्थी विचार, प्रगतिशील सोच र देशभक्तिपूर्ण अडान भएको पार्टी एमालेले सिङ्गो मुलुकलाई एकताबद्ध गर्न सक्छ।
यो अन्तर्वार्ता सौर्य दैनिकबाट साभार गरिएको हो ।
प्रतिक्रिया