धरानको एक ग्यारेजबाट १४९ किलो गाँजासहित तीनजना पक्राउ

आइतबार, २१ मंसिर २०८२

इटहरी ।  सुनसरीको धरान उप–महानगरपालिका–१ कृषि बजार नजिक रहेको एक ग्यारेजबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा छापा मारेर १४९ किलो गाँजा सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिजो (शनिबार)  दिउँसो १ बजे ‘साफिर’ नामक सवारी मर्मत गर्ने  ग्यारेजमा गाँजा ओसार पसार हुँदै गरेको भन्ने जानकारी पाएपछि वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गरेको थियो। सो क्रममा मे.१–ज २०१८ नम्बरको सवारी साधनबाट ठूलो परिमाणमा गाँजा अनलोड भइरहेकै अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–४ का २९ वर्षीय इन्द्रकुमार लिम्बु, सहिदभूमि गाउँपालिका–४ का २५ वर्षीय जिबसन राई र भारत उत्तर दिनाथपुर जिल्ला रामगंज थाना सुजाली ग्रामथानका २५ वर्षीय साफिर आलम रहेका छन्। बरामद गाँजा, सवारी साधन र पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त सवारी साधनका चालक भने घटनास्थलबाट फरार भएको र उनको पहिचान तथा खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार