काठमाडौँ : राजकीय सत्ता र राजनीतिक सत्तामा पटक पटक महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका प्रभावशाली नेताबीचको प्रतिस्पर्धा काठमाडौँ क्षेत्र नं. ५ मा निर्वाचनको सरगर्मी निकै रोचक हुँदै छ ।
पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको नेतृत्व गरिसकेका अनुभवी नेतासँगै जेनजी पुस्ता प्रतिस्पर्धामा उत्रँदा यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामबारे चासो र बहस तीव्र भएको छ ।
मतदातामाझ पुग्ने उम्मेदवारले आफू आबद्ध राजनीतिक दल र आफ्ना मुद्दा बुझाउने प्रयास गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाका चार वटा, बूढानीलकण्ठ नगरपालिकाका पाँच वटा र टोखा नगरपालिकाका छ वटा वडा रहेको यस क्षेत्रमा मतदाताका अपेक्षा ठाउँअनुसार फरक छन् ।
काठमाडौँ महानगरतर्फ सडकसहित भौतिक संरचना, बूढानीलकण्ठतर्फ सडक, ढल निकास, टोखातर्फ सडक, पानीसहित आधारभूत भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यमा सहुलियत र पहुँच, यातायातका साधन अझै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने लगायतका मुद्दा मतदाताले उठाएका छन् ।
टोखा नगरपालिका वडा नं. २ का ध्रुवनारायण डङ्गोलले राजधानीमै भए पनि टोखाले राज्यको उचित ध्यान नपाएको गुनासो गरे ।
उनले भने, “यस क्षेत्रमा प्रभावशाली नेताका घर छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गर्ने, आवाज उठाउने राजनीतिज्ञलाई यो क्षेत्रले पटक पटक जिताएर पठाएको छ । तर विकासमा ध्यान पुगेन, ध्यान दिनुप¥यो नि ! भाषण धेरै भयो, अब काम चाहियो, परिणाम चाहियो ।”
उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा तीव्र
कुल ७८ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा उम्मेदवार सकेसम्म सबै मतदाताका घरमा पुग्ने प्रयासमा छन् । यहाँ मुख्यतः छ जना उम्मेदवारको नाम चर्चामा छ ।
नेपाली कांग्रेसले महामन्त्री ५० वर्षीय प्रदीप पौडेललाई, नेकपा (एमाले) ले पूर्ववरिष्ठ उपाध्यक्ष ७२ वर्षीय ईश्वर पोखरेललाई र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य एवं अधिवक्ता ४८ वर्षीया कल्पना शर्मालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २९ वर्षीय सस्मित पोखरेललाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष ७० वर्षीय कमल थापालाई र गतिशील लोकतान्त्रिक पार्टीले अभिनेत्री ३९ वर्षीया निशा अधिकारीलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारमध्ये कांग्रेस महामन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारीमा रहेर जेनजी आन्दोलनअगाडि काम गरेका छन् ।
एमालेका वरिष्ठ नेता पोखरेल पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री हुन् । राप्रपाका पूर्वअध्यक्ष थापा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री हुन् । नेताद्वय पोखरेल र थापाले अन्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मतदातालाई आफ्ना मुद्दा बुझाउन र सुझाव लिइरहेका छन् ।
स्थानीयसँगै राष्ट्रका मुद्दा
प्रमुख राजनीतिक दलका उम्मेदवारले स्थानीय विकास, निर्माण, सुशासन, सुकुम्बासी समस्या समाधानसहित जनसरोकारका मुद्दा उठाएका छन् । केही साना दलले पहिचानको मुद्दालाई सारेका छन् ।
पूर्वमन्त्री एवं कांग्रेस महामन्त्री पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरकै विकास र समुन्नतिका लागि साझा प्रतिबद्धता ल्याउने बताए । यो क्षेत्रसँगै उपत्यकाको दिगो विकासका सन्दर्भमा पाँच वर्षमा गर्ने कामका साझा अवधारणा ल्याउने बताउँदै उनले उपत्यकामा यातायातसँगै पूर्वाधार विकासको नवीनतम अवधारणा ल्याउने बताए ।
एमाले वरिष्ठ नेता पोखरेलले राष्ट्र र राष्ट्रियताका पक्षमा अडान लिने शक्तिका रूपमा आफ्नो पार्टीले मत मागिरहेको र मतदाताले राष्ट्रका मुद्दासँगै स्थानीय समृद्धिका सन्दर्भमा सुझाव दिइरहेको बताए । उनले भने, “यस क्षेत्रको विकासका लागि अधिकतम प्रयास गरेको छु । मतदाताले मेरो कामको मूल्याङ्कन गर्दै अझै प्रभावकारी कार्यान्वयन ल्याउन सुझाव दिएका छन् ।”
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शर्माले संविधान संशोधनदेखि सांस्कृतिक सम्पदा संरक्षण र स्तरोन्नति, सांस्कृतिक पर्यटन प्रवर्धन, शिक्षा र स्वास्थ्यको पकेट क्षेत्र विकास तथा सुकुम्बासी समस्या स्थायी समाधानको अवधारणा ल्याएकी छन् । उनले भने, “कानुन निर्माणसँगै जनजीविकाका मुद्दा सम्बोधन गर्ने प्रयासमा सधैँ लाग्ने छु ।”
रास्वपाका उम्मेदवार तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहका पूर्वसल्लाहकार सस्मित पोखरेलले परिवर्तन, पारदर्शिता र परिणामलाई केन्द्रमा राखेर जेनजीका भावना समेटेर बढ्ने बताए । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले धर्म संस्कृतिको संवर्धन र विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।
अन्य १४ दल र पाँच स्वतन्त्र
यस क्षेत्रमा प्रमुख राजनीतिक दल र चर्चामा रहेका उम्मेदवारबाहेक १४ राजनीतिक दल र पाँच जना स्वतन्त्रको उम्मेदवारी परेको छ । जसमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का निमेष खनाल, राष्ट्रिय जनमोर्चाका अशोकविक्रम जिसी, नेपाल मजदुर किसान पार्टीका शोभालाल श्रेष्ठ, मङ्गोल नेसनल अर्गनाइजेसनका मीरा गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) का युवराज काफ्ले, जनता समाजवादी पार्टी नेपालका दानिन्द्र जोशी, त्रिमूल नेपालका रमेश तामाङले उम्मेदवारी दिएका छन् ।
आम जनता पार्टीका कोमल पौडेल, प्रगतिशील लोकतान्त्रिक पार्टीका विष्णु श्रेष्ठ, संयुक्त नागरिक पार्टीका श्यामकाजी सुनुवार, जय मातृभूमि पार्टीका वसन्तराज कुँवर, श्रम संस्कृति पार्टीका अमित थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ज्ञानेन्द्र प्रजापति, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले उम्मेदवारी दिएका छन् । त्यसैगरी ढकबहादुर कार्की, रमिता सापकोटा, धर्म डङ्गोल, प्रभा श्रेष्ठ, क्यामुना मिजारले स्वतन्त्र उम्मेदवारी दिएका छन् । Gorkhapatra Daily
प्रतिक्रिया