सिरहा : सिरहा कारागारका नाइके पक्राउ परेपछि कारागार परिसर तनावग्रस्त बनेको छ । कारागारभित्र अराजक गतिविधि मच्चाएको आरोपमा प्रहरीले नाइके इन्द्रजित यादवसहित १३ जनालाई पक्राउ गरेपछि कैदीहरूले तोडफोड र आगजनी गरेका हुन् ।
प्रहरीका अनुसार नियमित अनुगमनका क्रममा कारागारभित्र अवैध गतिविधि भइरहेको सूचनाका आधारमा छापा मार्दा एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको छ ।
कारागारभित्र अवैध क्रियाकलापमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि केही कैदीले कारागारभित्र तोडफोड र आगजनी गर्दा अवस्था केही समय तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन थप प्रहरी बल परिचालन गरिएको र हाल अवस्था नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद हतियार तथा नगदको स्रोत पत्ता लगाउन छानबिन अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया