धनकुटा । नेपाली कांग्रेस धनकुटाले हिजो (मंगलबार) सम्पन्न गरेको विस्तारित बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न नेताहरूको नाम सिफारिस गरेको छ। बैठकले विशेषगरी प्रतिनिधि सभा प्रत्यक्ष तर्फ धनकुटाबाट पार्टीका महामन्त्री तथा युवा नेता गगन कुमार थापालाई प्रमुख उम्मेदवारका रूपमा अघि सारेको छ।
जिल्ला सभापति दिने राईको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभाका लागि खुला तर्फ सुनिल बहादुर थापा, आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, लोकेन्द्र श्रेष्ठ, शिव कुमार राई, महिला तर्फ लिला सुब्बा र अञ्जना ताम्ली तथा दलित तर्फ रविन्द्र नेपाली, अम्विका परियार र इन्दु दर्नाललगायतका नाम सिफारिस गरेको जनाएको छ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ गगन थापासँगै जिल्ला सभापति दिनेश राई, पूर्व सभापति हरि कुमार राई र मनोहर नारायण श्रेष्ठको नाम पनि सिफारिस गरिएको छ। समानुपातिक तर्फ कमल कुमार फागु, टिका भण्डारी, सिता प्रधान, अम्विका धमला, करुणा कटुवाल, उदय बहादुर लिम्बु, मिना राई, रामजी कोगरेन, चन्द्र यांखा र मिन बहादुर कार्की लगायतका नेताहरूको नाम अघि सारिएको छ।
जिल्ला कांग्रेसका सचिव विजय सन्तोषी राईका अनुसार धनकुटाबाट गगन थापालाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय एकमत रूपमा आएको हो। उनले थापालाई आगामी दिनमा भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सार्दै निर्वाचनमा जाने तयारी तय भएको बताए।
बैठकले पार्टीको १५औँ महाधिवेशन तयारीस्वरूप धनकुटाका ६० वटै वडामा क्रियाशील सदस्यता वितरण तथा नवीकरण अभियान संचालन गर्ने निर्णय पनि गरेको छ। बैठकमा उपसभापति निर्मल ओझा, संविधानसभा सदस्य लिला सुब्बा, सहसचिव गिरिजाप्रसाद दाहाल, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राईसहित विभिन्न तहका पदाधिकारी र नेताहरूले आ–आफ्नो धारणा सहित सहभागिता जनाएका थिए।
प्रतिक्रिया