झापा : झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित इन्द्रेणी चोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकलले भित्री सडकखण्डमा बाटोमै रोकी राखिएको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडिको डालामा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी करिब ३५ वर्षीय प्रबिण आङदेम्बे टाउकोमा गम्भीर चोट लागी घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो । उपचारकै क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका करिब ४८ वर्षीय हरी आङदेम्बे पनि दुर्घटनामा घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक मेचीनगर नगरपालिका–२ निवासी ४० वर्षीय वीरबहादुर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया