झापा : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दल र उम्मेदवारहरू मतदाताको ढोका–ढोकासम्म पुगिरहेका छन्।
भारतसँग सिधा सीमा जोडिएको, व्यापारिक नाका र सामाजिक–वैचारिक बहुलता बोकेको यो क्षेत्र यसपटक पनि पूर्वी नेपालको राजनीतिक प्रयोगशालाजस्तै देखिएको छ।
मेचीनगर नगरपालिकाका १५ वडा, बुद्धशान्ति गाउँपालिकाका चार र भद्रपुर नगरपालिकाका दुई वडा समेटिएको झापा–१ मा १ लाख ३१ हजार ६७ मतदाता छन्। तीमध्ये पुरुष ६५ हजार ८५८ र महिला ६५ हजार २०९ छन्। मतदाताको संख्यागत सन्तुलन र भूगोलको विविधताले यहाँको चुनाव सधैं अनिश्चित बन्दै आएको छ।
यसपटकको प्रतिस्पर्धामा राजनीतिक पृष्ठभूमिसँगै पेशागत पहिचान पनि प्रमुख मुद्दा बनेको छ। प्राध्यापक, इन्जिनियर, सहकारीकर्मी, पत्रकारदेखि सामाजिक अभियन्तासम्म उम्मेदवार बनेपछि झापा–१ को चुनाव परम्परागत दलगत प्रतिस्पर्धाभन्दा बाहिर जाने संकेत देखिएको छ।
नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डे संगठनात्मक राजनीतिबाट आएका नेता हुन्। नेविसंघ हुँदै सक्रिय राजनीतिमा स्थापित पाण्डे पार्टीभित्र कुशल संगठक र बाहिर व्यवसायीका रूपमा चिनिन्छन्। उद्योग–व्यवसायसँगको सम्बन्ध र धार्मिक आस्थालाई जोडेर मतदातामाझ पुगिरहेका पाण्डे कांग्रेसको परम्परागत मताधार जोगाउने रणनीतिमा छन्।
झापा–१ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र भएकाले पनि कांग्रेसका लागि यहाँको परिणाम प्रतिष्ठासँग जोडिएको छ। शर्माले उम्मेदवारी नदिई पाण्डेलाई अघि सारेपछि कांग्रेसभित्र ‘अनुभवको निरन्तरता कि नयाँ विकल्प’ भन्ने बहस सतहमा आएको छ। संसदीय यात्राका हिसाबले पाण्डे नयाँ अनुहार हुन्।
नेकपा एमालेबाट उम्मेदवार रामचन्द्र उप्रेती सहकारी अभियानमा स्थापित नाम मानिन्छन्। लामो समय पार्टी जिम्मेवारीमा सक्रिय नरहे पनि सहकारी क्षेत्रमा बनाएको सञ्जाल उनको मुख्य आधार हो। पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा देखिएका समस्या र त्यससँग जोडिएको छविले मतदाताले उप्रेतीलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने प्रश्न चासोको विषय बनेको छ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अशेष घिमिरे वैचारिक राजनीतिमा जोड दिने युवा अनुहारका रूपमा देखिएका छन्। ‘पैसा दिएर मत नकिन्ने’ घोषणासहित मैदानमा उत्रिएका घिमिरेले सैद्धान्तिक बहस र वैचारिक स्पष्टतालाई मुख्य अस्त्र बनाएका छन्। तर संगठित संरचनाको अभावले उनको अभियान कति प्रभावकारी बन्छ भन्ने चुनौती यथावत् छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हेमराज कार्कीले अर्थशास्त्र र विकासको बहसलाई केन्द्रमा राखेका छन्। शिक्षण पेशाबाट आएका कार्कीले आर्थिक रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गर्ने दाबी गरिरहेका छन्। तर सीमित सांगठनिक पहुँचले कति मत तान्न सक्छ भन्ने प्रश्न खुला छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगी यस क्षेत्रकै सबैभन्दा कम उमेरकी उम्मेदवार हुन्। पूर्व समानुपातिक सांसदको अनुभव बोकेकी डाँगीले युवाको प्रतिनिधित्व र वैकल्पिक राजनीतिलाई जोड दिएकी छन्। शहरी क्षेत्र र युवामाझ रास्वपाप्रतिको आकर्षणले झापा–१ को समीकरणमा नयाँ कोण थपेको छ।
पहिलो पटक चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायत दलका उम्मेदवारहरूले पहिचान र वैकल्पिक राजनीतिक धार प्रतिनिधित्व गरिरहेका छन्। स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेलले स्थानीय मुद्दा, सामाजिक सक्रियता र व्यक्तिगत छविलाई आधार बनाएर फरक परिचय निर्माण गर्ने प्रयास गरिरहेका छन्।
यसपटक झापा–१ को चुनाव ठूला दलको संगठनात्मक शक्ति, वैचारिक राजनीति, पेशागत पहिचान र नयाँ पुस्ताको आकर्षणबीचको प्रतिस्पर्धाका रूपमा देखिएको छ। १५ उम्मेदवार रहेको यस क्षेत्रमा मत विभाजनको सम्भावना उच्च छ। अन्ततः मतदाताले संगठन रोज्ने कि व्यक्तित्व, अनुभव रोज्ने कि नवीनता—निर्णय फागुन २१ गते मतपेटिकामार्फत हुनेछ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा–१ बाट दुई स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारहरूमा नेपाली कम्युनिस्ट पार्टीका अशेष घिमिरे, राष्ट्रिय सद्भावना पार्टीका ओलोन राजवंशी, श्रम संस्कृति पार्टीका केवलराम राई, नेपाली कांग्रेसका केशवराज पाण्डे, नेपाल जनमुक्ति पार्टीका खान्द्रु करुवा, स्वतन्त्रतर्फ गणेशकुमार खरेल र दुर्गाप्रसाद साँवा लिम्बू, उज्यालो नेपाल पार्टीका नरेशकुमार लावती, राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी रहेका छन्।
त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानवहादुर साँवा लिम्बू, जनता समाजवादी पार्टी नेपालबाट रमा मेचे, नेकपा एमालेबाट रामचन्द्र उप्रेती, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष तामाङ, नेपाल मजदुर किसान पार्टीबाट हिरण्यप्रसाद भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की उम्मेदवार छन्।
प्रतिक्रिया