झापा : झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेन्स कङ्क्रिट प्रा.लि.मा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।
गएराति करिब ११:३० बजे मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट सट भई गम्भीर घाइते भएका शिवसताक्षी नगरपालिका–४ निवासी २८ वर्षीय राजीव राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो। उनी उक्त उद्योगमा हेल्परका रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार मिक्सर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी प्रयोग गर्दा अचानक करेन्ट सट भई राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
घटनाबारे माघ २७ गते राति १२:३० बजे अस्पतालमार्फत इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी प्राप्त भएको थियो। सूचनापछि प्रहरी वरिष्ठ हवल्दार भक्ति प्रसाद घिमिरेको कमाण्डमा द्रुत प्रतिक्रिया टोली घटनास्थल तथा अस्पताल पुगेको प्रहरीले जनाएको छ।
मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ। आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन माघ २७ गते बिहान पुनः प्रहरी टोली खटिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया