सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

मंगलबार, २७ माघ २०८२

धरान : सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। राजनीतिक दलका १९ जना र स्वतन्त्रतर्फ सात जना उम्मेदवार रहेको निर्वाचन कार्यालयका अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए।

निर्वाचन अधिकृत घिमिरेका अनुसार गत माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी २६ जनालाई निर्वाचन चिह्न प्रदान गरिएको थियो भने माघ १० गते उम्मेदवारलाई परिचयपत्र वितरण गरिएको थियो।

आगामी निर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। उम्मेदवारको उमेर ३१ वर्षदेखि ६८ वर्षसम्म रहेको घिमिरेले बताए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई ज्येष्ठ उम्मेदवार हुन्।

धरान उपमहानगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले समग्र धरानको विकासका लागि संघीय राजनीतिमा प्रवेश गरेको बताए। नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको विकासका मुद्दा उठाउने उनको भनाइ छ।

देशमा श्रमको सम्मान, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीलाई बलियो बनाउने लक्ष्यसहित आफू चुनावमा होमिएको उनले बताए।

साम्पाङले स्थानीय तहको नेतृत्व गर्दा हासिल गरेको अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्दै विकासलाई जनसहभागितामूलक र परिणाममुखी बनाउने योजना रहेको जानकारी दिए। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। उनले यही माघ ४ गते नगरप्रमुख पदबाट राजीनामा दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट सूर्य भट्टराई (मनोज) ले उम्मेदवारी दिएका छन्। धरान उपमहानगरपालिका–१७ का वडा अध्यक्षसमेत रहनुभएका भट्टराई सामाजिक न्याय, समावेशी विकास र उत्पादनमुखी अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

उनी २०७४ सालमा वडा नं. १७ का वडा अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ सालमा पुनः निर्वाचित भई दुई कार्यकाल सम्हालेका छन्। उनले पनि माघ ४ गते वडा अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ उम्मेदवार बनेका छन्। उनी पार्टीका क्षेत्र नं. १ का क्षेत्रीय सभापति हुन्। क्षेत्रको विकास र जनताको आवाज संसदसम्म पु¥याउने उद्देश्यले प्रतिस्पर्धा गरेको उनले बताए। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन गर्ने योजना प्राथमिकतामा रहेको उनको भनाइ छ।

नेकपा एमालेबाट टिकाराम लिम्बू (माङ्लेन) उम्मेदवार बनेका छन्। लामो समयदेखि विद्यार्थी र पार्टी राजनीतिमा सक्रिय माङ्लेनलाई एमालेले नयाँ पुस्ताको प्रतिनिधि तथा संगठनबाट खारिएको उम्मेदवारका रूपमा अघि सारेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरिन तामाङ ‘गोमा’ उम्मेदवार बनेकी छन्। नीति निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउँदै परिणाममुखी शासन प्रणाली सुदृढ गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताइन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बु, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार राई, संयुक्त नागरिक पार्टीका नरेश बिक, उज्यालो नेपाल पार्टीका डम्बर लावती, ने.क.पा. संयुक्त पार्टीका श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बु, आम जनता पार्टीका रायबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालका सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बु र मितेरी पार्टी नेपालका डा. रक्षकुमार राई उम्मेदवार छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा देउमान लिम्बु, सञ्जयकुमार राई, ओमकृष्ण उदास, सेसप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राईले उम्मेदवारी दर्ता गराएका छन्।

सुनसरी निर्वाचन क्षेत्र नं. १ मा एक लाख ५० हजार ३९३ मतदाता रहेका छन् भने ४१ मतदानस्थल र १६१ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार