धरानमा स्कुल बसको ठक्करबाट अटो चालकको मृत्यु, एकजना घाइते

बुधबार, २४ मंसिर २०८२

धरान :  धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले  ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान करिब ९ः४० बजे मिलन चोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आउँदै गरेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो। उपचारको क्रममा बिहान ९ः५५ बजे उनको मृत्यु भएको प्रवक्ता खड्काले बताए।

अटोमा सवार धरान–१९ का ४८ वर्षीय टिकराम लिम्बु घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुल बस, अटो र बस चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार