सुनसरी–२ बाट काँग्रेसका २ केन्द्रीय सदस्यसहित पूर्व राज्यमन्त्री सिफारिस

बुधबार, २४ मंसिर २०८२

सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट सुनसरी क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसले तीन जनाको नाम टुङ्ग्याएको छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले यस क्षेत्रमा नेपाली काँग्रेसका दुई केन्द्रीय सदस्यसहित एक पूर्वयातायात राज्यमन्त्री सिफारिस गरेको छ । यसअनुसार केन्द्रीय सदस्य राजीव कोइराला, राजीव ढुङ्गाना र पूर्व यातायातराज्यमन्त्री सिताराम मेहता सिफारिस भएका छन्।

राजीव कोइराला

पहिलो नम्बरमा सिफारिस भएका राजीव कोइराला २०७४ सालको निर्वाचनमा सुनसरी–२ (ख) बाट निर्वाचित भएका थिए। उनले नेकपा एमालेका रामप्रसाद मेहतालाई पराजित गर्दै कोशी प्रदेशसभा सदस्य बनेका थिए। कोइराला नेपाली काँग्रेसको प्रदेशसभा दलका नेता पनि बनेका थिए।

कोइराला सुनसरी जिल्लामा दुई पटक पार्टी सभापति निर्वाचित भइसकेका छन्। तर, २०७९ सालको निर्वाचनमा उनी रामप्रसाद मेहतासँग पराजित भएका थिए। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्यका रूपमा रहेका छन्।

१२ औँ महाधिवेशन र १३ औँ महाधिवेशनबाट पार्टी सभापति बनेका थिए। ३०३६ सालको विद्यार्थी आन्दोलनपश्चात् राजनीतिमा सक्रिय भएका उनी २०१९ सालमा सुनसरीको चादबेलामा जन्मिएका हुन्। कोइराला इनरुवा १ नम्बर वडाका निवासी हुन्।

राजीव ढुङ्गाना

दोस्रो नम्बरमा सिफारिस भएका राजीव ढुङ्गाना २०४६ सालको आन्दोलनपश्चात् देखि नेपाली काँग्रेसमा सक्रिय छन्। २०७६ सालमा उनी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष बनेका थिए।

अहिलेसम्म कुनै सरकारी लाभ पद नपाएका ढुङ्गाना १४ औँ महाधिवेशनबाट काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। इटहरी–४ का ५२ वर्षीय ढुङ्गाना अहिलेसम्म अविवाहित छन्।

सिताराम मेहता
नेपाली काङ्ग्रेसबाट पटक–पटक अवसर पाएका सिताराम मेहता यस क्षेत्रबाट चार पटक निर्वाचन लडेका छन्। मेहताले चार पटक अवसर पाएपनि दुई पटक मात्र चुनाव जितेका छन् भने दुई पटक हार व्यहोरेका छन्।

दुई पटक सांसद बनेका मेहता २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएपछि नेपाली काङ्ग्रेस कोटाबाट यातायात राज्यमन्त्री पनि भएका थिए। तर २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेका भीम आचार्यसँग पराजित भएका थिए।

 मेहता नेपाल विद्यार्थी सङ्घको सुनसरी जिल्लाको २०३३ सालमा उपसभापति भएका थिए। मेहता पार्टी फुटेको बेला नेपाली काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति बनेका थिए। इनरुवा तत्कालीन ८ नम्बर वडामा २०१२ सालमा जन्मिएका मेहता हाल इनरुवा २ मा बस्दै आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार