विराटनगर आएर गगनले भने,'अख्तियार, अदालतलाई सुधार्छौं'

सोमबार, २६ माघ २०८२

विराटनगर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत र महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावकारी र जनउत्तरदायी बनाउने सुधार योजनाले राज्य संयन्त्रप्रति घट्दै गएको जनविश्वास पुनःस्थापित गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले न्याय र सुशासनसँग प्रत्यक्ष जोडिएका यी निकायलाई सुधार नगरी राज्यमा विधिको शासन स्थापित गर्न नसकिने बताए ।

उनका अनुसार कांग्रेसले कुशासन अन्त्य र भ्रष्टाचार नियन्त्रणलाई मुख्य एजेन्डा बनाएर देशव्यापी अभियान सुरु गरेको छ ।

यस अभियानअन्तर्गत पार्टी कार्यकर्ता गाउँगाउँ पुगेर जनताका गुनासा सुन्ने र राज्यका निकायप्रति विश्वास बढाउने काममा सक्रिय हुनेछन् ।

सभापति थापाले अख्तियार, अदालत र महान्यायाधिवक्ताको कार्यालयलाई राजनीतिक दबाबबाट मुक्त गरी छिटो, निष्पक्ष र पारदर्शी सेवा दिने संरचनामा रूपान्तरण गर्ने योजना अघि सारे । उनले निष्क्रिय बनाइएका संवैधानिक निकायलाई पुनःसक्रिय बनाइने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा उनले संविधानको निरन्तरता, आवश्यक संशोधनमार्फत प्रदेश संरचनालाई सबल बनाउने, साथै दलित, मधेशी, महिला, मुस्लिम र अल्पसंख्यक समुदायका हक अधिकार सुनिश्चित गर्ने कांग्रेसको नीति स्पष्ट पारे ।

कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुशासन र समावेशिताको आधारमा कांग्रेसले मुलुकको नेतृत्व गर्न सक्ने बताए ।

आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले राजनीतिक स्थायित्व र आर्थिक पुनरुत्थानका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको धारणा राखेका थिए ।

कांग्रेसले यी सुधार योजनामार्फत विधिको शासनलाई बलियो बनाउँदै राज्य संयन्त्रमा जनविश्वास पुनःस्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार