आचारसंहिता उल्लंघनको उजुरीपछि धनकुटामा स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग

सोमबार, २६ माघ २०८२

धनकुटा : प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित आचारसंहिता उल्लंघनको उजुरी परेपछि धनकुटा निर्वाचन क्षेत्र नं. १ का एक स्वतन्त्र उम्मेदवारसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले लिखित स्पष्टीकरण माग गरेको छ ।

कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार लाक्पा तामाङलाई सामाजिक सञ्जालमार्फत गरिएको गतिविधिबारे स्पष्ट जवाफ पेश गर्न निर्देशन दिइएको हो । नेकपा (एमाले) धनकुटाले आफ्ना उम्मेदवारलाई लक्षित गरी गलत फोन नम्बर र फरक व्यक्तिको नाम प्रयोग गर्दै भिडियो तथा अडियो सामग्रीमार्फत गालीगलौज, मानहानि र बदनियतपूर्ण टिप्पणी गरिएको भन्दै उजुरी दर्ता गराएपछि कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।

उजुरीमा उल्लेख गरिएका सामग्री निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने प्रकृतिका भएको र निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरिएको दाबी गरिएको छ । त्यसैका आधारमा घटनाको सत्यतथ्य बुझ्न उम्मेदवारसँग स्पष्टीकरण माग गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङद्वारा हस्ताक्षरित पत्रमार्फत तामाङलाई “यस विषयमा के कसो भएको हो भन्ने सम्बन्धमा स्पष्ट पार्दै लिखित जवाफ पेश गर्न” भनिएको छ ।

निर्वाचन कार्यालय धनकुटाका प्रमुख माधव अधिकारीले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएपछि कानुनी प्रक्रिया अनुसार स्पष्टीकरण माग गरिएको जानकारी दिए ।

निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउन, भ्रामक सामग्री प्रसारण नगर्न तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न कार्यालयले सबै उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार