उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि सकियो छठ पर्व

मंगलबार, ११ कार्तिक २०८२

काठमाडौँ : सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा-आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसेर गाईको दूध, फूल र जलले अर्घ्य अर्पण गरी पूजा आराधना गरेपछि छठ सम्पन्न हुने धार्मिक परम्परा रहेको छ । बिहानै घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । भक्तजनहरूले कम्मरसम्मको पानीमा डुबेर सूर्योदयको दर्शन गर्दै पूजा सम्पन्न गरेका थिए ।

धार्मिक विश्वासअनुसार पृथ्वीका जीवधारीहरूको संरक्षण सूर्य र जलबाट हुने भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा पूजा गर्ने चलन छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको आराधना गर्दा मनोकाङ्क्षा पूरा भई इच्छित फल प्राप्त हुने उल्लेख धर्मशास्त्रमा गरिएको छ ।

यस अवसरमा विवाहित महिला–पुरुषले पति–पत्नीको दीर्घायु र अविवाहितहरूले सुयोग्य जोडी प्राप्तिको कामना गरेका छन् । सन्तान प्राप्तिको आशामा पनि धेरै भक्तजनले यो व्रत गर्ने गरेका छन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्व शनिबारदेखि सुरु भएको थियो । चतुर्थीका दिन स्नान गरी चोखो आहार ग्रहण गरेर सुरु गरिएको यो व्रत छठ सम्पन्न नभएसम्म माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदिको सेवन नगरी कठोर नियम पालन गरी मनाइन्छ ।

विशेषगरी मिथिला संस्कृतिमा आधारित यो पर्व २०४६ सालपछि काठमाडौँलगायतका पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको हो । विसं २०६२ मा गुह्येश्वरीस्थित श्री छठ पूजा समिति दर्ता भएपछि राजधानीमा छठको विशेष रौनक थपिएको छ । त्यसपछि थापाथली, गौरीघाट र कमलपोखरीमा विशेषरूपमा छठ मनाउने परम्परा बसालिएको हो ।

यो वर्ष पनि राजधानीका गुह्येश्वरी, थापाथली र कमलपोखरीमा छठ घाटहरूलाई बेहुलीझैँ सिँगारिएको थियो ।

आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न भएको गुह्येश्वरी छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए । उनका अनुसार सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालुहरू रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रत समाप्त गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार