‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

सोमबार, १० कार्तिक २०८२

दमक (झापा) : झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो । 

आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार देशभरिका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लब र भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते तथा दोस्रो सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ । 

प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । यहाँ १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट समेत बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने उक्त प्रतियोगिताको विजेताले १० लाख १० हजार, उपविजेताले रु पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई १५ हजार र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार