झापा । झापाको बिर्तामोड नगरपालिका–१० स्थित फेसबुक चोक नजिक रहेको एच.एस. प्लाई फ्याक्ट्रीमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार गएराति करिब १०ः३० बजे फ्याक्ट्रीका सेक्युरिटी गार्ड पाँचथर हिलेहाङ गाउँपालिका–७ घर भएका २८ वर्षीय सिताराम विकले सोही फ्याक्ट्रीमा मिस्त्रीको काम गर्दै आएका भारत बिहार घर भएका अन्दाजी ६२ वर्षीय देबु सराजमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट सराजको अनुहारमा सामान्य चोट लागेको छ।
घाइते सराजलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा सोही फ्याक्ट्रीमा काम गर्ने रवीन्द्र ढुङ्गेलसमेत संलग्न रहेको जानकारी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो।
प्रहरी टोलीले घटनामा संलग्न सिताराम विकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया