झापा : भारततर्फको सीमा नजिकको झापा जिल्लामा फेरि पनि जङ्गली हात्तीको आतंक बढेको छ। मेचीनगरदेखि भद्रपुर, विर्तामोड र अर्जुनधारासम्मका क्षेत्रका किसान रातभर बाली जोगाउन खटिन बाध्य छन्।
दुई दिन अघि मेचीनगर–२ मा पाँचवटाको समूहमा आएका हात्तीले पाक्न लागेको धानबारीमा पसेपछि स्थानीयले लखेट्ने प्रयास गरे पनि नियन्त्रणमा लिन सकेनन्।
हात्तीले आक्रमण गर्दा सरस्वती टोलका १२ वर्षीय आराफ बाँस्तोला घाइते भएका छन्। उनको उपचार विर्तासिटी अस्पतालमा भइरहेको छ।
गत साता पनि मेचीनगर–६ की ७४ वर्षीया उसिला राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो। उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार मेचीनगर–४ को प्रसाद गौँडाबाट हुल बाँधेर बेलुकी नेपाल पस्ने हात्ती बिहानै मेची नदी पार गरेर भारत फर्किन्छन्। तर,कहिलेकाहीँ बाटो बिराएका हात्तीले बस्ती पसेर धनजनको क्षति पुर्याउने गरेका छन्।
७५ वर्षीय किसान मदन राई भन्छन्, “वर्षभर दुःख गरेर धान लगायौँ, पाकेर थन्क्याउनै पाइँदैन। सरकारले नियन्त्रण गर्नुपर्यो, नत्र हामी आफैं हतियार समात्न बाध्य हुने अवस्था आउँदैछ।”
भद्रपुर नगरपालिका–१० का किसान यदुनाथ न्यौपानेले पनि रातभर धानबारीमा जाग्राम बस्नुपर्ने बाध्यता सुनाए। “रातभर रुङ्दै बस्छु, बिहान खेत हेर्दा आधा बाली सकिएको हुन्छ,” उनको गुनासो छ।
स्थानीय प्रशासन र डिभिजन वन कार्यालयले हात्ती नियन्त्रणका लागि प्रयास गरिरहेको जनाए पनि किसानहरूका अनुसार तत्कालीन राहत र स्थायी समाधानको पहल अझै कमजोर छ।
प्रतिक्रिया