रवि–बालेनको सातबुँदे सहमति : किन समेटिएनन् कुलमान ?

आइतबार, १३ पुस २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सातबुँदे राजनीतिक सहमति भएको छ ।

वैकल्पिक राजनीतिमा ‘बृहत् एकता’ को चर्चा चुलिँरहेका बेला उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने यस सहमतिबाट बाहिरिएका छन् ।

रास्वपा र बालेन दुवै पक्षसँग निरन्तर संवादमा रहे पनि घिसिङले आफ्नो पार्टीको अस्तित्व नै मेटिने खालको एकता स्वीकार्य नहुने स्पष्ट अडान लिँदै आएका थिए । नयाँ राजनीतिक शक्तिहरू आपसी सम्मान र अस्तित्व स्विकार्दै एकताबद्ध हुनुपर्ने उनको जोड रहँदै आएको छ ।

एकता पछिको पार्टीको नाम, नेतृत्व संरचना र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि रहेकाले घिसिङ तत्कालका लागि एकता प्रक्रियाबाट अलग रहेको बताइएको छ । यद्यपि, रास्वपा र बालेन शाह पक्षका नेताहरूले घिसिङसँग भविष्यमा सहकार्यको सम्भावना पूर्ण रूपमा सकिएको नभएको दाबी गरिरहेका छन् ।

रवि–बालेनबीच भएको सहमतिमा ‘अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने’ स्पष्ट उल्लेख छ ।

यही बुँदालाई आधार मानेर घिसिङसहित अन्य नेतासँग पनि संवाद र एकताको प्रयास जारी रहने नेताहरूको भनाइ छ । राजनीतिक एकताको यो नयाँ समीकरणले वैकल्पिक धार कता मोडिन्छ भन्ने चासो बढ्दै गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार