छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

मंगलबार, ११ कार्तिक २०८२

रौतहट । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई यस वर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मङ्गलवार उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएपछि सम्पन्न भएको हो ।

रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर व्रतालुहरूले छठ पूजा गरेका हुन । अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन  छ । सूर्यलाई अर्घ्य  दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ सकिएपछि नदी किनारमा समिति तथा स्थानीयले सफाइ अभियान थालेका छन । छठ मनाउने क्रममा फोहर जम्मा भएकाले यसको व्यवस्थापन गर्न थालिएको चन्द्रपुर छठ पूजा समितिका अध्यक्ष सुरेन्द्र साहले बताए । यहाँ शान्तिपूर्ण रुपमा हौसलाका साथ छठ पर्व समापन भएको उनको भनाइ छ ।

छठ सकिएपछि अहिले घर परिवारका सदस्य तथा आफन्त लाई प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ ।  छठ पर्वको विधि अनुसार पूजा, प्रार्थना र आराधना गरी चार दिनसम्म मनाइन्छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार