भारी हिमपातले अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो, पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

मंगलबार, ११ कार्तिक २०८२
तस्बिर : फाइल

म्याग्दी : गए रातिदेखि परेको भारी हिमपात र वर्षाले म्याग्दीको अन्नपूर्ण आधार शिविर (एबीसी) र मुस्ताङको मुक्तिनाथ क्षेत्रका पदयात्रा प्रभावित भएका छन्।

पदयात्रामा रहेका सयौँ पर्यटक बीच बाटोमै रोकिएका छन् भने अन्नपूर्ण आधार शिविर पुगेकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार, मौरिस हर्जोग पदमार्ग हुँदै आधार शिविर पुगेका पर्यटकलाई गए राति १२ बजेसम्म उद्धार गरी नारच्याङ र भुरुङ तातोपानीमा झारिएको छ।

जोखिम बढ्न नदिन तत्कालै पर्यटकलाई फिर्ता ल्याइएको हो। पदमार्गको प्रवेशविन्दु हुमखोलाका होटल व्यवसायी तेज गुरुङले आज बिहानैदेखि पदमार्गमा पर्यटकको आवतजावत ठप्प भएको बताए।

‘सामान्य दिनमा ५०० जनासम्म आउनेमा हिजो २०० मात्र आएका थिए, आज कोही पनि हिँडेका छैनन्’, उनले भने।

यस्तै, प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी-पुनहिल क्षेत्रमा पनि पर्यटकहरू होटलमै रोकिएका छन्। घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार, चिसो बढ्ने, बाटो बिराउने र लडेर दुर्घटना हुने जोखिमका कारण पदयात्रा स्थगित गर्न अनुरोध गरिएको छ।

‘पुनहिलबाट दृश्यावलोकन गर्न जाने पर्यटकसमेत बिहानैदेखि कोठामै बसिरहेका छन्’, उनले भने।

उता, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि हिमपातले पर्यटकहरू बास बसेकै ठाउँमा रोकिएका छन्। वडाध्यक्ष प्रमेश गुरुङले सडक र पदमार्गमा बाक्लो हिउँ जमेकाले यात्रा गर्न जोखिमपूर्ण रहेको बताए।

‘जोखिम हुने भएकाले हामीले पर्यटकलाई बाहिर ननिस्कन आग्रह गरेका छौँ’, उनले भने।

मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनले सोमबार नै वर्षा र हिमपातको पूर्वानुमानसहित सार्वजनिक सूचना जारी गरेकाले पदयात्रामा आउने पर्यटकको संख्यामा भने केही कमी आएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार