झापा : झापाको भद्रपुर नगरपालिका–८ किरात भवन अगाडि बेवारिसे अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार पुस ७ गते राति करिब १० : ५० बजे सो स्थानमा एक पुरुष लडिरहेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क राईको कमाण्डमा टोली खटिएको थियो। टोलीले तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षका पुरुषलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएको थियो।
अस्पतालमा उपचार भइरहेको अवस्थामा ती पुरुषको पुस १२ गते साँझ करिब ८ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालको शव गृहमा सुरक्षित राखिएको छ।
प्रहरीका अनुसार हालसम्म मृतकका आफन्त वा नातेदार सम्पर्कमा आएका छैनन्। आफन्तको खोजतलास भइरहेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आज बिहान वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया