काठमाडौँ : नेपाली सिने उद्योगमा पछिल्ला वर्षहरूमा अवार्ड समारोहको संख्या त उल्लेख्य रुपमा बढेको छ, तर त्यसअनुसार विश्वसनीयता र प्रतिष्ठा भने घट्दै गएको गुनासो चलचित्रकर्मीहरूको छ।
चलचित्रकर्मीलाई हौसला र प्रेरणा दिने उद्देश्यले विश्वव्यापी रूपमा अवार्ड दिने परम्परा रहेको छ। नेपालमा पनि यही उद्देश्यका साथ विसं २०४३ मा लायन्स क्लब अफ काठमाडौँले पहिलोपटक चलचित्रसम्बन्धी अवार्ड आयोजना गरेको थियो। उक्त समारोहमा चलचित्र कान्छी, अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्ल सर्वोत्कृष्ट घोषित भएका थिए।
तर, त्यसपछिका वर्षमा सिने उद्योग व्यावसायिक रूपमा फैलिँदै जाँदा अवार्ड समारोहको संख्या त बढ्दै गयो, तर गुणस्तरमा गिरावट आएको आरोप चलिरहेको छ। धेरै अवार्डमा विजेताको नाम अग्रिम नै अनुमान गर्न सकिने स्थिति बनेको भन्दै चलचित्रकर्मीहरू असन्तुष्ट छन्।
चलचित्र निर्देशक पुर्नेन्दु झा भन्छन्, “अवार्ड उद्योगलाई चलायमान बनाउँछ, तर अहिलेको अवस्थामा व्यावसायिक उपलब्धि हासिल भएको जस्तो लाग्दैन। सङ्ख्याभन्दा गुणस्तरमा जोड दिनुपर्छ। प्रतिष्ठित अवार्ड निरन्तर हुनुपर्छ, तर विश्वसनीयता घट्न दिनुहुँदैन।”
नेपालमा अहिले नेपाल सरकारको राष्ट्रिय दीर्घसाधना सम्मान, नेपाल चलचित्र प्राविधिक सङ्घको नेफ्टा अवार्ड, एलजी सिने सर्कल अवार्ड, कामना फिल्म अवार्ड, डिजिटल सिने अवार्ड, बक्स अफिस फिल्म अवार्ड लगायत धेरै अवार्ड आयोजना भइरहेका छन्। केही नेपालमै हुने गर्छन् भने केही विदेशमा नेपाली चलचित्रको बजार विस्तारका उद्देश्यले आयोजना गरिन्छन्।
बेलायतमा हुने इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) पनि त्यस्तै एक उदाहरण हो। संयोजक मनिष कार्कीका अनुसार, “हामीले लन्डनमा नेपाली चलचित्रको बजार बढाउने उद्देश्यले इन्फा सुरु गरेका हौँ। नेपालका कलाकारलाई लिएर विदेशमा आयोजना गर्दा नेपाली चलचित्रको प्रचार–प्रसारमा सकारात्मक प्रभाव परेको छ।”
उनका अनुसार, इन्फा अवार्डको दोस्रो संस्करण आगामी कात्तिक २९ मा लन्डनमा हुनेछ, जसमा नेपालबाट करिब ४० कलाकार सहभागी हुनेछन्।
तर, काठमाडौँबाहेक नेपालकै अन्य सहरहरूमा भने यस्ता समारोहको उपस्थिति न्यून छ। कोशी र मधेस प्रदेशका सहरहरूमा नेपाली चलचित्रको बजार कमजोर रहँदा भोजपुरी फिल्मले वर्चस्व जमाएको छ। निर्देशक झा भन्छन्, “विदेशमा अवार्ड गर्नेभन्दा पनि विराटनगर, जनकपुर, मलङ्गवा जस्ता शहरमा गरिए नेपाली चलचित्रमैत्री बजार विस्तारमा मदत पुग्छ। यसका लागि सरकारको भूमिका अत्यावश्यक छ।”
चलचित्र विश्लेषकहरूका अनुसार, पहिलेका अवार्डहरूले कलाकारको करियरमा सकारात्मक प्रभाव पार्थे, तर अहिले त्यो प्रभाव हराउँदै गएको छ। अवार्डको संख्या बढ्नु सकारात्मक भए पनि पारदर्शिता र विश्वसनीयता कायम गर्न नसक्दा यसको मूल्य घट्दै गएको उनीहरूको टिप्पणी छ।
विश्वका ‘ओस्कार’ र ‘कान्स’जस्ता अवार्ड पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका कारण प्रतिष्ठित ठहरिएका छन्। तर नेपालमा भने आयोजकको नियत, निर्णायक मण्डलको क्षमता र स्पष्ट मापदण्डको अभावले गर्दा अवार्डहरू विवादास्पद र सीमित दायराभित्रै सीमित भइरहेका छन्।
प्रतिक्रिया