पाँचथर : पाँचथरको फिदिममा जारी आठौँ तरुण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलबार सम्पन्न खेलमा फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेका छन्।
फिदिमले मिक्लाजुङलाई २–४ गोलले पराजित गरेको भने हिलिहाङले तुम्वेवालाई ०–५ गोलको फराकिलो अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
यससँगै प्रतियोगिताको पहिलो चरणका सबै खेल सकिएका छन्। बुधबार हुने सेमीफाइनल चरणमा दिउँसो १२ बजे कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका बीच पहिलो खेल हुने छ भने दिउँसो ३ बजे फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका बीच दोस्रो सेमीफाइनल खेल हुनेछ।
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी छ। फाइनल खेल कात्तिक १३ गते हुने तालिका रहेको आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा पाँचथरका एक नगरपालिका र सात गाउँपालिका गरी आठ टोली सहभागी छन्। विजेता टोलीले रु १ लाख १ सय ७३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु ५० हजार १ सय ७३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतिक्रिया