इलाम । हालैको बाढी र पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि उच्च अदालत बार एशोसिएसन इलामले जिल्ला स्तरीय राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
एशोसिएसन इलामकी अध्यक्ष बिद्या सापकोटाले राहत स्वरूप उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिइन् । उनका अनुसार बाढी र प्राकृतिक विपद्का कारण घरबारविहीन भएका स्थानीयहरूलाई राहत र पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले यो आर्थिक सहयोग गरिएको हो ।
गत असोज १८ गतेको अविरल वर्षापछि आएको बाढीले इलामका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको थियो । सो बाढीमा ३९ जनाको मृत्यु भएको थियो भने ३ सय ३६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै ८ सय २८ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म ११ परिवार सामुदायिक भवनमा बसोबास गर्दै आएका छन् भने ४ सय ३८ परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । जिल्ला राहत कोषमा स्थानीय संस्था, संघ–संगठन र विभिन्न व्यक्तिहरूबाट सहयोग निरन्तर जुट्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया