सन् २०२६ को विश्वकप अन्तिम हुने रोनाल्डोको घोषणा

मंगलबार, २५ कार्तिक २०८२

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका छन्।

क्लब र अन्तर्राष्ट्रिय फुटबल मिलाएर ९५० भन्दा बढी गोलका मालिक रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने तयारी गरेको बताएका छन्। “यो निश्चित हो,” रोनाल्डोले भिडियो लिङ्कमार्फत साउदी फोरमसँग कुरा गर्दै भनेका छन्, “सन् २०२६ मेरो अन्तिम विश्वकप हुनेछ।”

४० वर्षे रोनाल्डोले थपे, “म ४१ वर्षको हुन लागेँ, त्यसैले यो क्षण अन्तर्राष्ट्रिय खेलबाट विदा लिन उपयुक्त लाग्छ।”

सन् २०२३ मा साउदी अरबको अल नासर क्लबसँग आकर्षक यात्रा सुरु गरेका रोनाल्डोले गत हप्ता पनि आफू नजिकिँदै गरेको सन्यासबारे संकेत दिएका थिए। “सम्भवतः अझै एक वा दुई वर्ष म खेलमा हुनेछु,” उनले भनेका थिए।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकपमा सहभागी हुने लक्ष्य राखेका छन्। सन् २००६ मा फ्रान्ससँग सेमिफाइनलमा हार्दै पोर्चुगलले रोनाल्डोको नेतृत्वमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गरेको थियो।

अहिलेसम्म पोर्चुगलले सन् २०२६ को विश्वकप (अमेरिका, क्यानडा र मेक्सिकोमा हुने) का लागि छनोट पक्का गरेको छैन। तर, बिहीबार आयरल्यान्डविरुद्धको खेलमा जित हासिल गरेमा पोर्चुगलले आफ्नो स्थान सुनिश्चित गर्नेछ।

रोनाल्डोले सन् २०२२ को अन्त्यतिर दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा आवद्ध भएका थिए। उनको आगमनपछि साउदी फुटबलमा विश्वका चर्चित खेलाडीहरू आकर्षित भइरहेका छन्।

साउदी अरबले आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जन क्षेत्रमा ठूलो लगानी गरिरहेको छ। गत डिसेम्बरमा फिफाले सन् २०३४ को विश्वकप आयोजनाको जिम्मेवारी साउदी अरबलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार