२७ करोड ५० लाखको आईपीओ ल्याउँदै इष्टर्न साहारा, हरित लगानीमा सार्वजनिक स्वामित्वतर्फ कदम

आइतबार, २७ पुस २०८२

झापा : हरित लगानीलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै आवश्यक सबै कानुनी, प्राविधिक तथा प्रक्रियागत काम अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिएको हो।

आइतबार झापाको बिर्तामोड–२ स्थित सिटी प्यालेसमा सम्पन्न सभाको उद्घाटन प्रमुख अतिथि महानायक राजेश हमालले गरेका थिए। सभामा कम्पनीको आर्थिक अवस्था, संरचनागत विकास र दीर्घकालीन रणनीतिबारे विस्तृत छलफल भएको थियो।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका केही दफामा संशोधन तथा परिमार्जन गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ।

वि.सं. २०७९ मा लगानीमूलक कम्पनीका रूपमा स्थापना भएको इष्टर्न साहाराको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। हाल कम्पनीको जारी पुँजी १ अर्ब ३७ करोड ५० लाख र चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कम्पनीले हालसम्म ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी सञ्चित मुनाफा आर्जन गरेको जनाएको छ।

‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको कम्पनीले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, सेवा, पूर्वाधार तथा खनिज उत्खननजस्ता उत्पादनशील र भविष्य उन्मुख क्षेत्रमा लगानी विस्तार गर्दै आएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए। छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दिगो परियोजनामा लगानी गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको उनले बताए।

“आईपीओ निष्कासनसँगै कम्पनी सार्वजनिक स्वामित्वमा प्रवेश गर्दैछ,” अध्यक्ष गिरीले भने, “यसले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई अझ मजबुत बनाउनेछ।” उनका अनुसार कम्पनीले हरित ऊर्जा र वातावरणमैत्री परियोजनामार्फत आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

कम्पनीका निर्देशक कृष्ण रानाभाटका अनुसार इष्टर्न साहाराको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८१ पैसा रहेको छ। आईपीओमार्फत सर्वसाधारण समूहका लागि २७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गरिनेछ। कम्पनीको मुख्य कार्यालय बिर्तामोडमा र सम्पर्क कार्यालय काठमाडौंको बानेश्वर हाइटमा रहेको उनले जानकारी दिए।

सभाका प्रमुख अतिथि महानायक राजेश हमालले देशमा समस्या छन् भनेर निराश बन्नुभन्दा समाधान खोज्न नागरिकस्तरबाटै सक्रिय हुनुपर्नेमा जोड दिए। “छरिएका पुँजीलाई एकीकृत गरी उद्यमशीलता र उत्पादनशील क्षेत्रमा लगानी गर्नु आजको आवश्यकता हो,” उनले भने, “इष्टर्न साहाराजस्ता कम्पनीहरूले आर्थिक विकाससँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्ने विश्वास लिएको छु।”

कार्यक्रममा कम्पनीका सञ्चालक, शेयर सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा मौलिक संस्कृति झल्कने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार