काठमाडौँ :जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन्।
नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीहरूले बुझाएको पछिल्लो विवरणअनुसार सो आन्दोलनबाट परेका बिमा दाबीको कुल रकम २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिएका छन्।
उनका अनुसार सम्पत्ति बिमा, मोटर बिमा, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमा, परिवहन र अन्य बिमाका गरी पाँच प्रकारका बिमा दाबीहरू दर्ता भएका छन्।
सम्पत्ति बिमातर्फका ६९३ दाबीमध्ये १९ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षतिमा करिब दुई अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरिएको छ। मोटर बिमातर्फ दुई हजार २९० दाबीमध्ये तीन अर्ब ४७ करोड रुपैयाँ क्षतिको दाबी परेकामा ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ।
त्यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ दाबीमध्ये ५४ करोड ७५ लाख क्षतिको दाबी परेकामा करिब ६ करोड २३ लाख भुक्तानी भएको छ। परिवहन बिमातर्फ १२ दाबीमध्ये एक करोड ६८ लाख क्षतिको दाबीमध्ये ४७ लाख र अन्य बिमातर्फका ४२ दाबीमध्ये ३९ करोड ३० लाख क्षतिको दाबीमध्ये २३ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई सो दाबी भुक्तानी सहयोगस्वरूप दुई अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम उपलब्ध गराएको छ।
पुनःबिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनःबिमा दाबी दर्ता भई कुल १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ पुगेको छ।
बिमा दाबी छिटो र पारदर्शी रूपमा निबटान गर्न प्राधिकरणले बिमा कम्पनी र पुनःबिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताएका छन्।
प्रतिक्रिया