अब पुरानै ढंगले नयाँ यात्रा सम्भव छैन : महामन्त्री विश्वप्रकाश शर्मा

आइतबार, २७ पुस २०८२

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको दोस्रो विशेष महाधिवेशन कांग्रेस मात्र होइन, देश परिवर्तन गर्ने संकल्पसहित आयोजना गरिएको बताएका छन्।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले महाधिवेशनमा सहभागी प्रतिनिधिहरू कांग्रेस रूपान्तरणसँगै देशलाई समुन्नतिको दिशामा अघि बढाउने प्रतिबद्धताका साथ उपस्थित भएको बताए।

उनले वर्तमान राष्ट्रिय तथा पार्टीभित्रको अवस्था विषम र विशिष्ट रहेको उल्लेख गर्दै यही परिस्थितिमा विशेष महाधिवेशन भइरहेको स्पष्ट पारे। शर्माले भने, “आजको यो उपस्थिति केवल कांग्रेस बदल्न मात्र आएको छैन, यो उपस्थिति देश बदल्नका लागि आएको छ। हामी कांग्रेस पनि बदल्छौं, देश पनि बदल्छौं।”

विशेष महाधिवेशनले पार्टीभित्र नवीन आत्मविश्वास भर्ने र नेपाली समाजमा नयाँ विश्वास निर्माण गर्ने उद्देश्य बोकेको उनको भनाइ थियो। “एकातर्फ पार्टीभित्र नयाँ आत्मविश्वास भर्नु छ, अर्कोतर्फ नेपाली समाजमा नयाँ विश्वास जगाउनु छ,” उनले भने।

महामन्त्री शर्माले कांग्रेस रूपान्तरण अपरिहार्य भएको औंल्याउँदै आजको कांग्रेसले विगतको तुलनामा धेरै चुनौतीको सामना गरिरहेको स्वीकार गरे। पार्टी नेतृत्वमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट पार्दै उनले भने, “पार्टीको ड्राइभिङ सिटको छेउमा बसेको नाताले पार्टीभित्र भएका केही कमजोरीको जिम्मेवारी महामन्त्रीका रूपमा हामी पनि लिन्छौं। त्यसैले स्वीकार गरेर भनेका हौं—अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन।”

उनले पुरानै सोच र कार्यशैलीबाट नयाँ यात्रा सम्भव नहुने उल्लेख गर्दै देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भइसकेको बताए। राजनीतिमा पनि मौसम परिवर्तन हुने भन्दै उनले कहिले अनुकूल त कहिले प्रतिकूल अवस्था आउने बताए। त्यस्तो अवस्थालाई समयमै चिन्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा हुनुपर्नेमा जोड दिँदै यस मामिलामा कांग्रेस नेतृत्वबाट कमजोरी भएको स्वीकार गरे।

“अब नेपालमा नयाँ परिस्थिति बनेको छ। त्यो परिस्थितिलाई सामना गर्न र नयाँ अवस्था निर्माण गर्न पुरानो मनस्थिति लिएर हुँदैन,” उनले भने, “पुरानै आनीबानीले नयाँ अवस्था बनाउन सकिँदैन। राजनीतिमा पनि कहिले मौसम अनुकूल हुन्छ, कहिले प्रतिकूल। त्यसलाई चिन्न सक्ने क्षमता नेतृत्वसँग हुनुपर्छ, तर यसमा हामीले कमजोरी गर्यौं।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार