कोशीका ८ जिल्ला काँग्रेस  सभापतिको स्पष्ट अडान: विशेष महाधिवेशनको औचित्य छैन

शनिबार, २६ पुस २०८२
फाइल फोटो

विराटनगर : नेपाली काँग्रेसको विशेष महाधिवेशन असान्दर्भिक र अवैधानिक ,गैरराजनितिक भएको कोशी प्रदेशका ८ जिल्ला  सभापतिहरुले ठहर गरेका छन्।

कोशी प्रदेशका १४ जिल्ला मध्ये ८ जिल्लाका पार्टी सभापतिहरुले बर्तमान राजनितिक परिस्थितीमा विशेष महाधिवेशनको औचित्य नभएको ठहर गरेका हुन्। 

मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु, झापाका देउमान थेवे, खोटाङका विष्णुकुमार राई, पाँचथरका रुपनारायण जबेगू, इलामका डम्बर खड्का, ओखलढुंगाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याहाङ सुब्बा र संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले शनिबार संयुक्त रुपमा  प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र उठिरहेको विशेष महाधिवेशनको बहसप्रति आपत्ति जनाएका छन। 

विशेष महाधिवेशनको औचित्य नभएको ठहर गर्ने पार्टी सभापतिहरुले आन्तरिक विवाद र अनावश्यक बहसमा पार्टीलाई अल्झाउनेभन्दा पनि आसन्न आमनिर्वाचनतर्फ पूर्ण रूपमा केन्द्रित हुनुपर्नेमा समेत जोड दिएका छन् । 

विज्ञप्तिमा मुलुकको समग्र राजनीतिक अवस्था अत्यन्त संवेदनशील मोडमा पुगेको र सरकारले आगामी फागुन २१ गतेका लागि आमनिर्वाचनको मिति सार्वजनिक गरिसकेको अवस्थामा कांग्रेसजस्तो जिम्मेवार दलको आन्तरिक शक्ति क्षय हुने गतिविधिमा ऊर्जा खर्चिन नहुने उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा विशेष महाधिवेशनको माग गर्नु समयसापेक्ष नभएको भन्दै उनीहरुले त्यो माग राजनीतिक दृष्टिले उचित नरहेको समेत निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेसको विधानमा स्पष्ट रहेको  महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विधानले नदिएको अधिकारको माग गर्नु पार्टी अनुशासन र संस्थागत प्रक्रियाविपरीत हुने उनीहरूले तर्क गरेका छन् ।  त्यसमाथि पार्टीको नियमित १५ औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा अलग्गै विशेष महाधिवेशनको कुनै वैधानिक आधार नरहेको समेत उल्लेख गरिएको छ।

विज्ञप्तिमा पार्टीलाई एक ढिक्का बनाएर चुनावी मैदानमा उत्रन सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरिएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार